काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभा निर्वाचनका लागि सार्वजनिक गरेको समानुपातिक उम्मेदवार सूचीमा युवा व्यवसायी सचिन ढकालको नाम समेटिएको छ। रास्वपाले खस–आर्य क्लस्टरअन्तर्गत दोस्रो स्थानमा ढकाललाई राखेको हो।
ढकाल आइएमई ग्रुपका निर्देशक तथा इला कम्फर्ट होटल्सका अध्यक्षका रूपमा परिचित छन्। उनी काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) नजिकको समूहबाट समानुपातिक सूचीमा परेको बताइन्छ।
सक्रिय राजनीतिमा आउनुअघि ढकालले वैकल्पिक राजनीतिक शक्ति निर्माणका विषयमा विभिन्न क्षेत्रका व्यक्तिहरूसँग संवाद र छलफल गर्दै आएका थिए। यही प्रक्रियामा बालेन नेतृत्वको वैकल्पिक राजनीतिक धारसँग उनको सम्बन्ध प्रगाढ भएको स्रोतहरू बताउँछन्।
सचिन ढकाल आइएमई ग्रुपका अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालका छोरा हुन्। रास्वपाले नयाँ पुस्ताका व्यवसायी तथा पेशागत पृष्ठभूमिका व्यक्तिहरूलाई राजनीतिमा ल्याउने रणनीतिअन्तर्गत उनलाई समानुपातिक सूचीमा समेटेको जनाएको छ।






Comment