जेनजी आन्दोलनको असरले निजी क्षेत्र थप असुरक्षित बन्यो : उद्योगी–व्यवसायी « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८२ पुस

अर्थतन्त्र

जेनजी आन्दोलनको असरले निजी क्षेत्र थप असुरक्षित बन्यो : उद्योगी–व्यवसायी



विराटनगर । जेनजी आन्दोलनले उठाएका मागहरू जायज भए पनि त्यसको स्वरूप र प्रभावका कारण निजी क्षेत्र झन् असुरक्षित बनेको कोशी प्रदेशका उद्योगी–व्यवसायीले बताएका छन्।

निजी क्षेत्रले लामो समयदेखि उठाउँदै आएका समस्या र मागप्रति राज्य तथा राजनीतिक दलहरूले बेवास्ता गरेकै कारण जेनजी आन्दोलन जन्मिएको उनीहरूको ठहर छ। तर आन्दोलनका क्रममा देखिएको आगजनी, तोडफोड र आक्रमणले निजी क्षेत्र थप प्रताडित भएको उद्योगी–व्यवसायीको गुनासो छ।

मोरङ उद्योग व्यापार संघद्वारा आयोजित विराट ट्रेड एक्स्पोको अवसरमा शनिबार विराटनगरमा आयोजित बहस कार्यक्रममा जेनजी आन्दोलनले दिएको सन्देश, त्यसले उद्योग–व्यवसायमा पारेको असर र अब देशले लिनुपर्ने आर्थिक तथा नीतिगत दिशाबारे छलफल गरिएको थियो।

नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य नवीन रिजालले जेनजी आन्दोलनले देशलाई गम्भीर सन्देश दिन खोजेको बताए। पुरानो पुस्ता, राजनीति र कर्मचारीतन्त्र नसच्चिएसम्म आन्दोलनको मर्म पूरा नहुने उनको भनाइ थियो। निजी क्षेत्रका जायज मागहरू लामो समयसम्म नसुनिँदा असन्तुष्टि विस्फोट भएको भन्दै उनले भ्रष्टाचारकै कारण युवाहरू सडकमा उत्रिएको उल्लेख गरे।

रिजालले आन्दोलनका क्रममा उद्योगी–व्यवसायीमाथि भएको आक्रमणले निजी क्षेत्रमा ‘चिसो’ पसेको भन्दै यसले लगानी र रोजगारीमा नकारात्मक असर पार्ने चेतावनी दिए। नेपाल ठूलो बजार भएको बताउँदै उनले डिजिटल बजार, जलविद्युत्, कृषि, पर्यटन र निर्यात प्रवर्द्धनमा ठूलो सम्भावना रहेको उल्लेख गरे। निर्यातबिना व्यापार घाटा घटाउन नसकिने उनको जोड थियो।

नेपाल उद्योग परिसंघ कोशीका अध्यक्ष पवन सारडाले जेनजी आन्दोलन व्यापक असन्तुष्टिको परिणाम भएको र यसको मागहरू जायज रहेको बताए। तर राजनीतिक दल र कर्मचारीतन्त्रमा अझै सोच र व्यवहारमा परिवर्तन नआएको उनको भनाइ थियो। भ्रष्टाचाररहित देश नबनाएसम्म आन्दोलनको सार्थकता नहुने उल्लेख गर्दै उनले उच्च करका कारण नेपाली उद्योग भारतसँग प्रतिस्पर्धी बन्न नसकेको बताए। सरल कर प्रणाली र सूचना प्रविधि क्षेत्रमा लगानी बढाउनुपर्नेमा उनले जोड दिए।

उद्योग संगठन मोरङका वरिष्ठ उपाध्यक्ष भोलेश्वर दुलालले जेनजी आन्दोलनले अर्थतन्त्र र व्यवसायमा ठूलो क्षति पुर्‍याएको दाबी गरे। ‘दुई दिनमै करिब एक खर्ब रुपैयाँ बराबरको क्षति भयो,’ उनले भने। आन्दोलनको स्पष्ट नेतृत्व नहुँदा व्यवसायी थप त्रसित भएको भन्दै कर तिर्ने व्यवसायीले समेत सुरक्षा अनुभूति गर्न नसकेको उनको गुनासो थियो।

आफ्नो होटल ‘नेपालिरिका’मा आगलागी हुँदा राज्यबाट पर्याप्त क्षतिपूर्ति नपाएको उल्लेख गर्दै दुलालले करदाता सम्मानित हुने संस्कार विकास गर्नुपर्ने बताए। उपभोक्ता घट्दै जानु र युवा पलायन देशकै गम्भीर समस्या भएको उल्लेख गर्दै उनले पर्यटन, कृषि र जलविद्युत्मा लगानी बढाएर स्वदेशमै रोजगारी सिर्जना गर्नुपर्ने धारणा राखे।

कोशी प्रदेश योजना आयोगका उपाध्यक्ष तारानाथ निरौलाले जेनजी आन्दोलन नेतृत्वविहीन र संगठनविहीन भएकाले अपेक्षित नतिजा दिन नसकेको बताए। आन्दोलनको नाममा निजी क्षेत्रमा भएको आक्रमण निन्दनीय भएको भन्दै उनले कर प्रणाली सुधार, संघ–प्रदेश–स्थानीय तहबीच कानुनी एकरूपता र राष्ट्रिय पूँजी संरक्षण आवश्यक रहेको बताए। पर्यटन क्षेत्रमा एकीकृत मास्टर प्लान बनाएर नतिजामुखी विकासमा अघि बढ्नुपर्ने उनको सुझाव थियो।

कार्यक्रम संयोजक अनिल सारडाले विराट ट्रेड एक्स्पोमा यस्ता छलफलले नीति निर्माता, निजी क्षेत्र र युवाबीच संवाद बढाउने विश्वास व्यक्त गरे। व्यापार प्रवर्द्धनसँगै नीतिगत बहसलाई पनि प्राथमिकतामा राखिएको उनले बताए।

प्रकाशित : 28 December, 2025 2:06 pm