राष्ट्र बैंकले बजारबाट ३५ अर्ब रुपैयाँ झिक्दै « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

राष्ट्र बैंकले बजारबाट ३५ अर्ब रुपैयाँ झिक्दै



काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज ३५ अर्ब रुपैयाँ झिक्ने भएको छ । वित्तीय प्रणालीमा रहेको अधिक तरलता नघटेपछि राष्ट्र बैंकले पछिल्ला दिनमा लामो अवधिका लागि पैसा झिक्दै आएको छ ।

सोही क्रममा आज १० दिनका लागि बजारबाट उल्लिखित रकम झिक्न लागेको हो । निक्षेप संकलन उपकरणको बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउनेछन् । यसरी खरिद गरेको निक्षेप संकलन उपकरण अन्य बैंक तथा वित्तीय संस्थामा धितोका रूपमा प्रयोग गर्न सकिने पनि राष्ट्र बैंकको सूचनामा उल्लेख छ ।

पछिल्लो तीन वर्षयता राष्ट्र बैंकले नियमित रूपमा आइतबार र बुधबार बजारबाट पैसा झिक्दै आएको छ । निक्षेप संकलनमा रकम राख्न चाहने बैंक तथा वित्तीय संस्थाले आज दिउँसो २ बजेसम्म अनलाइन बोलकबोल गर्न सकिने राष्ट्र बैंकद्वारा जारी सूचनामा उल्लेख छ ।

निक्षेप संकलनमा घटीमा १० करोड र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी बोलकबोल गर्न सकिने राष्ट्र बैंकको सूचनामा उल्लेख छ । निक्षेपसंकलनको बोलकबोल ब्याजदरमा गर्नुपर्नेछ भने बहुब्याजदरमा पनि बहुबोलकबोल गर्न सकिने राष्ट्र बैंकले जनाएको छ ।

प्रकाशित : 14 December, 2025 1:02 pm