काठमाडौं। विन नेपाल लघुवित्त वित्तीय संस्था १२औं वर्षमा प्रवेश गरेको छ। २०७१ मंसिर ८ गते औपचारिक रुपमा कारोबार सुरु गरेको संस्थाले ११ वर्ष सफलतापूर्वक पूरा गर्दै १२औं वर्षको सुरुआत विशेष सामाजिक उत्तरदायित्व कार्यक्रमसँग गरेको हो।
वार्षिकोत्सवको अवसरमा संस्थाले पोर्टेज तथा पुनर्स्थापना संस्था नेपालमार्फत सञ्चालित पोर्टेज समाहित तथा विशेष विद्यालयका विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गरेको छ। सो सामग्रीहरू संस्थाका अध्यक्ष डा. मदन गोपाल श्रेष्ठ, प्रमुख कार्यकारी अधिकृत दिपेन्द्र खतिवडा लगायतका प्रतिनिधिहरूले विद्यालयमै पुगेर हस्तान्तरण गरेका हुन्।
विन नेपाल लघुवित्तले स्थापना कालदेखि नै ग्रामीण तथा दूरदराजका न्युन आय भएका समुदायलाई लक्षित गर्दै वित्तीय पहुँच विस्तारमा काम गर्दै आएको छ। हाल संस्थाले बागमती प्रदेशका ८ जिल्लामा २१ शाखामार्फत सेवा प्रदान गर्दै आएको तथ्यांक छ।
संस्थाको केन्द्रीय कार्यालय काभ्रे–साँगामा रहेको छ भने यसको पछिल्लो त्रैमासिक विवरण अनुसार ८ करोड ४३ लाख ४० हजार ५५० रुपैयाँ शेयर पुँजी रहेको उल्लेख छ।
लघुवित्त क्षेत्र विस्तार हुँदै गएको अवस्थामा विन नेपाल लघुवित्तले आफ्नो १२औं वर्षलाई सामाजिक उत्तरदायित्व, सेवा विस्तार र वित्तीय समावेशीकरणमा अझ प्रभावकारी बन्ने लक्ष्यका साथ अघि बढाएको जनाएको छ।





Comment