रकम बढ्यो, लाभ बढ्यो: शक्तिशाली बन्दै सामाजिक सुरक्षा कोष « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

रकम बढ्यो, लाभ बढ्यो: शक्तिशाली बन्दै सामाजिक सुरक्षा कोष



काठमाडौं । नेपाल सरकारले सर्वसाधारणलाई सामाजिक सुरक्षामा समेट्ने उद्देश्यले सञ्चालन गरेको सामाजिक सुरक्षा कोषमा संकलित रकम करिब एक खर्ब रुपैयाँको नजिक पुगेको छ। कोषको ताजा विवरणअनुसार हालसम्म कुल ९५ अर्ब ४४ करोडभन्दा बढी योगदान संकलन भएको छ।

कोषमा दर्ता भई सहभागी भएका रोजगारदाताको संख्या २२ हजार ३०९ पुगेको छ भने योगदानकर्ता संख्या २६ लाख ४१ हजार नाघेको छ।

यस अवधिसम्म कोषले विभिन्न सुरक्षा योजनाअन्तर्गत १७ अर्ब ६५ करोड रुपैयाँभन्दा बढी रकम सेवा सुविधाको रूपमा वितरण गरिसकेको छ।

कोषका अनुसार स्वास्थ्य उपचार तथा मातृत्व सम्बन्धी योजनाबाट करिब २ अर्ब ५१ करोड भुक्तानी गरिएको छ। त्यस्तै, दुर्घटना तथा अशक्तता विमाअन्तर्गत २२ करोड ८६ लाख, आश्रित परिवार सुरक्षा योजनामा २९ करोड सात लाख र अवकाश सम्बन्धी योजनामा १४ अर्ब ६१ करोडभन्दा बढी रकम प्रदान गरिएको छ।

हालै वैदेशिक रोजगारीमा जाने श्रमिकलाई पनि सामाजिक सुरक्षा कोषमा अनिवार्य रूपमा समावेश गरिने व्यवस्था लागू भएपछि कोषको पहुँच र सदस्यता दुवै तीव्र गतिमा बढेको कोषको दाबी छ। स्वरोजगारमा रहेका व्यक्ति, उद्योग–व्यवसाय र संघ–संस्थामा कार्यरत श्रमिकले समेत कोषमा सहभागी हुन सक्ने सुविधा उपलब्ध छ।

नियमित रूपमा योगदान गर्ने श्रमिकले स्वास्थ्य सेवा, पेन्सन, दुर्घटना–अशक्तता सुरक्षा, आश्रित परिवार सुरक्षा तथा वृद्धावस्था सुरक्षा योजनाबाट लाभ उठाउन सक्ने व्यवस्था छ।

प्रकाशित : 24 November, 2025 12:55 pm