काठमाडौं । भक्तपुरको गठ्ठाघरमा सञ्चालित नागरिक अस्पतालको ४३ प्रतिशत सेयर ह्याम्स (HAMS) अस्पतालका अध्यक्ष आरएस भण्डारीले खरिद गरेका छन्। नागरिक अस्पतालका सेयर सदस्य मोहन झाको स्वामित्वमा रहेको सो सेयर झण्डै १० करोड रुपैयाँ हाराहारीमा भण्डारीले किनेका हुन्।
नयाँ स्वामित्व संरचना बनेसँगै अस्पतालको सम्पूर्ण व्यवस्थापन अब भण्डारीकै नेतृत्वमा रहने नागरिक अस्पतालका सेयर होल्डर गोपी न्यौपाने बताउँछन्। उनका अनुसार अस्पतालको नाम परिवर्तन गर्ने विषयमा छलफल भइरहेको छ, र अन्य सेयरधारकहरूले “ह्याम्स” वा अन्य उपयुक्त नाम राख्न पनि खुलापन देखाएका छन्।
२ अर्बभन्दा बढी लगानीमा एक सय शैय्याको नयाँ भवन
हाल भाडाको भवनबाट १५ शैयाको क्षमताका साथ सञ्चालनमा रहेको नागरिक अस्पताललाई आफ्नै १२ रोपनी जग्गामा पुनःनिर्माण गर्दै १ सय शैय्याको अत्याधुनिक अस्पताल बनाउने तयारी भएको छ।
१२ रोपनीमध्ये ७ रोपनी जग्गामा १ लाख ५० हजार स्क्वायर फिट क्षेत्रफलमा भवन निर्माण गर्ने योजना रहेको बताइएको छ। निर्माण कार्य दुई वर्षभित्र सम्पन्न गर्ने लक्ष्य लिने तयारी छ।
लगानी संरचना अनुसार ७० प्रतिशत बैंक ऋण र ३० प्रतिशत सेयर होल्डरको लगानीमार्फत गरी २ अर्ब रुपैयाँभन्दा बढी रकम परियोजनामा लगानी हुनेछ।
राजमार्ग नजिक भएकाले ट्रमा सेवा प्राथमिकता
पूर्वाधार विस्तारपछि नयाँ अस्पताल ह्याम्सकै नामबाट सञ्चालन गर्ने तयारी छ। अध्यक्ष भण्डारीका अनुसार अस्पताल राजमार्ग नजिक पर्ने भएकाले दुर्घटना तथा हार्ड–जोर्नी उपचार (ट्रमा र अर्थोपेडिक सेवा)लाई प्राथमिकताका साथ अघि बढाइनेछ।
बीपी राजमार्ग र अरनिको राजमार्ग नजिकै पर्ने भएकाले काभ्रे, सिन्धुपाल्चोक, दोलखा, रामेछापलगायत क्षेत्रका स्थानीयले नयाँ अस्पतालबाट प्रत्यक्ष लाभ लिने अनुमान गरिएको छ। भक्तपुर क्षेत्रमै ठूला दुर्घटना भएमा घाइतेलाई काठमाडौंको ट्रमा सेन्टर वा ललितपुरको बीएण्डसीमा लैजानुपर्ने भनाइ रहेकाले यसले ठूलो सुविधा दिने विश्वास व्यक्त गरिएको छ।
ह्याम्स अस्पताल आईपीओ निष्कासन प्रक्रियामा
ह्याम्स अस्पतालले सर्वसाधारणका लागि ११ लाख २५ हजार कित्ता प्राथमिक सेयर (IPO) निष्कासन गर्न नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ। अस्पतालले अंकित मूल्य १०० रुपैयाँमा १८८ रुपैयाँ प्रिमियम थपेर प्रतिकित्ता २८८ रुपैयाँमा आईपीओ जारी गर्न स्वीकृति मागेको हो।
ह्याम्स अस्पताल गत आर्थिक वर्षको असारदेखि पब्लिक लिमिटेडमा रूपान्तरण भएको हो। यसपछिको जारी पुँजीको १५ प्रतिशत सेयर सर्वसाधारणका लागि निष्कासन गर्ने तयारी छ।
सेयर बिक्री व्यवस्थापनका लागि मुक्तिनाथ क्यापिटल लिमिटेडलाई नियुक्त गरिएको छ। कुल आईपीओमध्ये ५ प्रतिशत कर्मचारीका लागि छुट्याइने र ८५ प्रतिशत सेयर संस्थापककै स्वामित्वमा रहनेछ।
ह्याम्स अस्पताल २०५४ मंसिर २ मा दर्ता भएको हो र बागमती प्रदेश स्वास्थ्य मन्त्रालयबाट अनुमति लिएर १०० शैयाको जनरल अस्पतालको रूपमा सञ्चालनमा छ।
ह्याम्स नर्सिङ कलेजले २०६५ पुस ९ देखि प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (CTEVT) बाट स्वीकृति पाई तीन वर्षीय PCL नर्सिङ कार्यक्रम सञ्चालन गर्दै आएको छ।





Comment