सिद्धार्थ बैंक नेपाल प्रिमियर लिगः क्यानको कमजोरी खुल्यो, ४० करोडको सपना जोखिममा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थ राजनीति

सिद्धार्थ बैंक नेपाल प्रिमियर लिगः क्यानको कमजोरी खुल्यो, ४० करोडको सपना जोखिममा



काठमाडाै । नेपाल क्रिकेट संघ (क्यान)का महासचिव पारस खड्काले नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणमा आर्थिक अपेक्षा भन्दा पनि प्रतियोगितालाई सुव्यवस्थित बनाउनु मुख्य प्राथमिकता भएको बताएका छन्।

शनिबार आयोजित एनपीएल २०२५ को पत्रकार सम्मेलनमा बोल्दै उनले आठवटै टिमहरूले गरेको लगानीका आधारमा आर्थिक संरचना तयार भइसकेको र अब आवश्यक भनेको खेललाई अझ अनुशासित र सुदृढ बनाउँदै लैजानु भएको बताए।

उनका अनुसार, गत वर्ष पनि क्यानले करिब एक अर्ब रुपैयाँ बराबरको वित्तीय कारोबार हुने अनुमान गरेको थियो, र अहिले पनि टिमहरूको लगानीले राम्रो आर्थिक फ्रेमवर्क तयार भइसकेको छ। उनले भने, “अब दोस्रो संस्करणमा छिर्दै गर्दा क्रिकेटमा तत्काल ठूलो परिवर्तनको कुरा भन्दा पनि प्रतियोगिता कसरी अझ व्यवस्थित बनाउने भन्ने नै मुख्य चुनौती हो।”

खड्काले आफ्नो जिम्मेवारीअनुसार काम गरिरहेको उल्लेख गर्दै दोस्रो संस्करण सम्पन्न भएपछि प्रतियोगिताको समग्र मूल्यांकन गरिने बताए।

एनपीएल २ को पुरस्कार राशि भने पहिलो संस्करणकै जस्तै कायम राखिएको क्यानले जनाएको छ। पहिलो संस्करणमा जनकपुर बोल्ट्सले १ करोड १० लाख रुपैयाँसहित उपाधि जितेको थियो। उपविजेता सुदूरपश्चिम रोयल्सले ५१ लाख पाएको थियो भने तेस्रो स्थानमा कर्णाली याक्सले २५ लाख र चौथो स्थानमा चितवन राइनोजले १५ लाख प्राप्त गरेका थिए।

यसपटक क्यानले करिब ४० करोड रुपैयाँ संकलन गर्ने लक्ष्य लिएको छ। क्यानका कोषाध्यक्ष पदम खड्काले पत्रकार सम्मेलनमा प्रायोजकबाट मात्रै १५ देखि ३० करोड रुपैयाँ उठ्ने अपेक्षा राखिएको जानकारी दिए।

एनपीएल २०२५ को उद्घाटन खेल मंसिर १ गते साँझ ४ बजे साविक विजेता जनकपुर बोल्ट्स र काठमाडौं गोर्खाजबीच खेलिने छ।

एनपीएलको खेल मैदानको मुख्य भागमा लिगको मुख्य प्रायोजक सिद्धार्थ बैंक र सपोर्टिभ पार्टनर एनसेल राखिएको छ। पहिलो सिजनमा चार करोड दिने सिद्धार्थ बैंक र करिब दुई करोड योगदान गर्ने एनसेल गरेको देखिएको छ ।

प्रकाशित : 15 November, 2025 3:20 pm