नागरिक लगानी कोषको नाफामा सामान्य वृद्धि, खर्च घटेपछि थप सहज « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

नागरिक लगानी कोषको नाफामा सामान्य वृद्धि, खर्च घटेपछि थप सहज



काठमाडौं । नागरिक लगानी कोषले चालु आर्थिक वर्षको पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार, संस्थाको नाफा गत वर्षको यही अवधिभन्दा सामान्य रूपमा बढेको देखिन्छ।

पहिलो त्रैमासमा कोषले ३१ करोड ४३ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो रकम गत वर्षको त्यही अवधि भन्दा ४.४३ प्रतिशतले बढी हो। गत वर्ष यसै अवधिमा नाफा ३० करोड ९ लाख रुपैयाँ थियो।

कोषको कुल आम्दानी धेरै बढेन, तर खर्च उल्लेखनीय रूपमा घटेकाले नाफा बढ्न सहयोग पुग्यो। यस अवधिमा कम्पनीको ब्याज आम्दानी १८.८७ प्रतिशतले घटेर ९ करोड ७२ लाख रुपैंयामा झरेको छ । सेवा शुल्क तथा कमिशन आम्दानी भने ९.१३ प्रतिशत बढेको छ। यस अवधिमा ४२ करोड ७४ लाख रुपैंया पुगेको छ ।

समग्रमा कुल आम्दानी ३.९० प्रतिशत मात्र बढेको छ। तर कुल खर्च २४.२३ प्रतिशत घट्दा नाफामा सकारात्मक प्रभाव परेको छ। नाफा केही बढे पनि प्रतिशेयर आम्दानी भने घटेको देखिन्छ। समीक्षा अवधिमा इपिएस ४८ पैसा घटेर १९ रुपैयाँ ४० पैसा भएको छ।

चुक्ता पूँजी धेरै भएकाले नाफा अनुपातिक रूपमा नबढ्दा भ्एक् घटेको कोषको बुझाइ छ।असोज मसान्तसम्म संस्थाको प्रतिशेयर नेटवर्थ १६९ रुपैयाँ ८ पैसा रहेको छ।

हाल कोषको चुक्ता पूँजी ६ अर्ब ४८ करोड १७ लाख रुपैयाँ छ भने जगेडा कोषमा २० अर्ब २४ करोड ८८ लाख रुपैयाँ सञ्चित छ।

प्रकाशित : 14 November, 2025 11:39 am