लन्डन। नेपाल–यूके अन्तर्राष्ट्रिय सीप साझेदारी (UK-Nepal International Skills Partnership) ले ब्रिटिश काउन्सिलद्वारा प्रदान गरिने प्रतिष्ठित ‘गोइङ ग्लोबल पार्टनरशिप्स अवार्ड २०२५’ जितेको छ। पाँच विजेतामध्ये यो साझेदारी पनि एक हो। पुरस्कार घोषणा गत अक्टोबर २८ मा लन्डनमा आयोजित गोइङ ग्लोबल २०२५ सम्मेलनका क्रममा गरिएको हो।
नेपालका तर्फबाट शिक्षा सचिव चूडामणि पौडेलले उक्त पुरस्कार ग्रहण गरेका थिए। साझेदारीमा युकेका चार संस्थासँगै नेपालका सार्वजनिक तथा निजी क्षेत्रका निकायहरू नेपाल उद्योग वाणिज्य महासंघ र प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् समेत संलग्न छन्।
ब्रिटिश काउन्सिलको सहयोगमा सञ्चालित यो नेपाल–यूके साझेदारीले नेपालमा हरित सीप अभाव न्यूनीकरणमा योगदान पुर्याउँदैछ। यसले सार्वजनिक–निजी साझेदारीलाई संस्थागत बनाउँदै हरित सीप विकासका लागि सरकारलाई नीति र कार्यक्रमगत सहकार्यमा सघाएको छ।
साझेदारीमार्फत नेपाल सरकारले गठन गरेको ग्रीन स्किल्स एडभाइजरी बोर्ड हाल सक्रिय रूपमा हरित सीप विकासका कार्यमा अग्रसर छ। उक्त बोर्डमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, CTEVT, FNCCI, नेपाल उद्योग परिसंघ र नेपाल ठेकेदार संघका प्रतिनिधिहरू रहेका छन्।
ब्रिटिश काउन्सिलले चयन गरेका पाँच विजयी परियोजनाहरूले शिक्षा क्षेत्रमा दीर्घकालीन प्रभाव पार्नुका साथै सस्टेनेबल डेभलपमेन्ट गोल मध्ये एक वा बढी लक्ष्यहरूमा उल्लेखनीय योगदान पुर्याएको मानिएको छ। अन्य विजयी साझेदार देशहरू पाकिस्तान, चीन, इजिप्ट र नाइजेरिया रहेका छन्।
पुरस्कार ग्रहणपछि शिक्षा सचिव पौडेलले भने, “यो पुरस्कारले नेपाल र युकेका विभिन्न संस्थाबीचको उत्कृष्ट साझेदारीलाई मान्यता दिएको छ। ग्रीन स्किल्स एडभाइजरी बोर्डले नेपालमा अत्यावश्यक हरित सीप विकासमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।”
त्यसैगरी, ब्रिटिश काउन्सिल नेपालका देश निर्देशक रस्टम मोडीले भने, “यूके–नेपाल अन्तर्राष्ट्रिय सीप साझेदारीले यो विश्वव्यापी पुरस्कार जित्नु हाम्रो साझा उपलब्धि हो। सार्वजनिक र निजी क्षेत्रबीचको सहकार्यबाट नेपालको हरित सीप अजन्डालाई अघि बढाउने यो साझेदारीले दीगो, समावेशी र भविष्यमुखी कार्यबल निर्माणमा सहयोग पु(र्याइरहेको छ।”
पुरस्कार ब्रिटिश काउन्सिलकी उप–कार्यकारी प्रमुख केट इवार्ट–बिग्स र ग्लोबल डायरेक्टर ९शिक्षा० म्याडलाइन एन्सेलले संयुक्त रूपमा प्रदान गरेका थिए। उनीहरूले परियोजनाहरूले शिक्षामा पारेको महत्वपूर्ण प्रभाव र दीगो विकासमा पुर्याएको योगदानको प्रशंसा गरे।
‘गोइङ ग्लोबल पार्टनरशिप्स’ कार्यक्रमबारे
ब्रिटिश काउन्सिलद्वारा वित्तपोषित गोइङ ग्लोबल पार्टनरशिप्स कार्यक्रमले विश्वविद्यालय, कलेज तथा उच्च, प्रविधिक र व्यावसायिक शिक्षा क्षेत्रका संस्थाहरूबीच अन्तर्राष्ट्रिय सहकार्य र सम्बन्ध सुदृढ गर्न सहयोग पुर्याउँछ। यस कार्यक्रमले इन्टरनेशनल एजुकेसन स्ट्राटेजी र सस्टेनेबल डेभलपमेन्ट गोल्स का उद्देश्यहरू पूरा गर्न योगदान पुर्याउँदै विश्वभर उच्च शिक्षा, अनुसन्धान, र समावेशीताको क्षेत्रमा अवसर सृजना गरिरहेको छ।
कार्यक्रम सुरु भएदेखि अहिलेसम्म ब्रिटिश काउन्सिलले ६१ देशका लगभग १,००० संस्थासँग सहकार्य गर्दै १५५ युके शैक्षिक संस्थासँग ९३२ साझेदारी परियोजनामा लगानी गरेको छ। यी परियोजनाहरू अनुसन्धान, क्षमता अभिवृद्धि, समावेशी शिक्षा र अन्तर्राष्ट्रिय सहकार्यमा केन्द्रित छन्।
‘गोइङ ग्लोबल पार्टनरशिप्स अवार्ड्स’ बारे
कार्यक्रमको पाँचौँ वार्षिकोत्सवको अवसरमा यो पुरस्कार स्थापना गरिएको हो, जसले ब्रिटिश काउन्सिलद्वारा वित्तपोषित उत्कृष्ट र प्रभावशाली साझेदारी परियोजनाहरूलाई सम्मान गर्छ। सन् २०२५ का लागि आवेदन १३ मे देखि ८ जुनसम्म खुला गरिएको थियो। कुल १०५ आवेदनमध्ये कठोर मूल्यांकन प्रक्रियापछि पाँच परियोजनाहरूलाई विजेता घोषणा गरिएको हो।





Comment