काठमाडौं, १३ जेठ । गैरआवासीय नेपाली सङ्घका अध्यक्ष शेष घले र उनकी श्रीमती जमुना गुरुङ अघिल्लोभन्दा चार स्थान माथि उक्लिदैं अष्ट्रेलियाको १०१औँ धनी व्यक्ति बनेका छन् । अष्ट्रेलियाको फाइनान्सियल रिभ्युले सार्वजनिक गरेको सन् २०१७ का दुई सय धनी व्यक्तिको सूचीमध्ये उनीहरू ६४ करोड ७० लाख डलर (६५ अर्ब रुपियाँ)सहित सो स्थानमा उक्लिनुभएको हो ।
यसअघि उनीहरू ५८ करोड ६० लाख डलरसहित १०५औँ स्थानमा थिए । अष्ट्रेलियाको मेलबर्नमा रहेका घले दम्पतीले नेपालमा लामो समय दुःखका साथ जीवन व्यतित गरेको अष्ट्रेलियन रिभ्युले उल्लेख गरेको छ । सन् १९९० को दशकको मध्यतिर अष्ट्रेलियाया बसाई सरेका घले दम्पतीको उच्च शिक्षा, घरजग्गामा लगानी रहेको छ । मेलबर्नमा उनीहरूकै लगानीमा प्रसिद्ध मेलबर्न इन्स्टिच्युट अफ टेक्नोलोजी सञ्चालनमा छ ।
सन् २०१५ मा घले दम्पतीले मलेबर्नमै ४७० ओटा तथा २१० ओटा कोठासहितका दुईओटा टावर होटल निर्माण गर्ने अनुमति पाउनुभएको थियो । घले दम्पतीकै लगानीमा नेपालमा प्रसिद्ध सेराटन ब्राण्डको चेन होटल पनि निर्माणाधीन अवस्थामा छ ।
Comment