काठमाडौं, १२ जेठ ।एनसेलले संगीतका पारखीहरूलाई लक्षित गरेर गीतसंगितहरूमा निःशुल्क पहुँच पुग्नेगरी योण्डर म्युजिक एप सार्वजनिक गरेको छ । जसअन्र्तगत उक्त एपमार्फत प्रयोगकर्ताले सबै प्रकारका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गीतहरू सुन्न तथा डाउनलोड गर्न सक्नेछन् । एनसेलले अमेरिकामा रहेको योण्डर म्युजिक ईङ्कसँगको सहकार्यमा नेपालमा यस्तो एप ल्याएको हो ।
यो एप सबै भन्दा धेरै नेपाली गीत समावेश रहेको डिजिटल म्युजिक लाइब्रेरी भएको कम्पनीको दावी छ ।
एनसेलका ग्राहकले शुक्रबार (जेठ १२) देखि एप डाउनलोड गरी गीतसंगीत सुन्न सक्नेछन् । एनसेलका प्रिपेड तथा पोस्टपेड दुवैथरी ग्राहकले यो म्युजिक एप डाउनलोड गर्न सक्नेछन् ।
यस योण्डर म्युजिक एपअन्तर्गत प्रयोगकर्ताले विना कुनै विज्ञापन तथा सदस्यता शूल्क २ करोड भन्दा बढी नेपाली र अन्तर्राष्ट्रिय गीत–संगीतको लाइब्रेरीमा पहुँच पाउने कम्पनीले बताएको छ । आफूलाई मनपर्ने गीत अनलाइन सुन्न तथा डाउनलोड गरी अफलाइनसमेत सुन्न सकिनेछ ।
मोवाइल डेटा प्रयोग गरी गीत डाउनलोड गर्दा विद्यमान डेटा शुल्क भने लाग्नेछ ।
शुरुमा अन्य नेटवर्कमा पनि उपलब्ध भएपनि सार्वजनिक भएको एक महिना पछि यो एप एनसेलको नेटवर्कमा मात्र उपलब्ध हुनेछ । एक महिनापश्चात एनसेलका ग्राहकले मात्र यो एपमा रजिष्टर गरी यसको प्रयोग गर्न सक्नेछन् ।
‘यो नेपालका लागि म्युजिक स्ट्रिमिङ्ग सेवामा नयाँ युगको शुरुवात हो,’ एनसेलका प्रबन्ध निर्देशक साइमन पर्किन्स्ले भने ।
ग्राहकले गुगल एप स्टोर तथा एप्पलएप स्टोरबाट यो एप डाउनलोड गर्न सक्न्छन् । एपमा रेजिष्ट्रेशनपश्चात वाइफाइ वा मोबाइल डेटा दुवै माध्यमबाट गीतहरु डाउनलोडगर्न सकिनेछ ।
Comment