काठमाडौं । नेपाल राष्ट्र बैंकले विभिन्न बैंक तथा वित्तीय संस्थामा मुद्दति निक्षेपमार्फत २ अर्ब ६० करोड रुपैयाँ लगानी गर्ने भएको छ। राष्ट्र बैंकले आफ्नो विभिन्न कोषमा रहेका रकमको परिचालन गर्न सो लगानी गर्न लागेको हो।
केन्द्रिय बैंकका अनुसार ‘क’ वर्गका वाणिज्य बैंक, ‘ख’ वर्गका राष्ट्रियस्तरका विकास बैंक र ‘ग’ वर्गका राष्ट्रियस्तरका वित्त कम्पनीमा उक्त रकम मुद्दति निक्षेपका रूपमा राखिनेछ। यसअन्तर्गत वाणिज्य बैंकमा २ अर्ब ८ करोड, विकास बैंकमा ३९ करोड र वित्त कम्पनीमा १३ करोड रुपैयाँ निक्षेप गर्ने योजना रहेको राष्ट्र बैंकले जनाएको छ।
राष्ट्र बैंकले ९ नोभेम्बर २०२५ देखि ९ नोभेम्बर २०२६ सम्मको ३६६ दिन अवधिका लागि सो रकम मुद्दति निक्षेपमा राख्ने तयारी गरेको हो।
यसका लागि निक्षेप लिन इच्छुक बैंक तथा वित्तीय संस्थाले राष्ट्र बैंकका तोकिएका सर्तहरू पूरा गर्नुपर्नेछ। तीमध्ये प्रमुख सर्तहरूमा संस्थाको सञ्चालन अवधि कम्तीमा दुई वर्ष पूरा भएको हुनुपर्ने, न्यूनतम पुँजीकोष कायम गरेको हुनुपर्ने, कुल कर्जाको पाँच प्रतिशतभन्दा कम निष्क्रिय कर्जा रहेको हुनुपर्ने र खुद तरल सम्पत्ति केन्द्रिय बैंकले तोकेको न्यूनतम सीमा भित्र रहेको हुनुपर्ने समावेश छन्।
त्यसैगरी, कर्जा–निक्षेप अनुपात राष्ट्र बैंकले तोकेको सीमाभित्र रहेको र निकटतम अघिल्लो आर्थिक वर्षमा संस्थाले खुद मुनाफा कमाएको हुनुपर्ने पनि सर्तका रूपमा तोकिएको छ।
राष्ट्र बैंकले लगानी प्राप्त गर्न नियामक मापदण्ड पनि स्पष्ट गरेको छ। जरिवाना गरिएको सञ्चालक वा प्रमुख कार्यकारी अधिकृत (सीईओ) त्यही पदमा कायम नरहेको हुनुपर्नेछ। जरिवाना भुक्तान गरेको भए सो मितिले कम्तीमा ६ महिना पूरा भएको हुनुपर्ने सर्त छ।
त्यस्तै, शीघ्र सुधारात्मक कारबाहीमा परेको भए फुकुवा भएको ६ महिना पूरा भएको हुनुपर्ने, समस्याग्रस्त घोषणा नभएको वा फुकुवा भएको ६ महिना पूरा भएको हुनुपर्ने, र सर्वसाधारणका लागि छुट्याइएको शेयर जारी गरिसकेको हुनुपर्ने पनि राष्ट्र बैंकले उल्लेख गरेको छ। राष्ट्र बैंकले उक्त मुद्दति निक्षेपमा लगानी गर्न इच्छुक बैंक तथा वित्तीय संस्थालाई असोज १० भित्र ब्याजदर प्रस्ताव पठाउन आग्रह गरेको छ।





Comment