वीरेन्द्र बस्नेतसहितको समूहद्वारा नयाँ राजनीतिक अभियान सुरु « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थ राजनीति

वीरेन्द्र बस्नेतसहितको समूहद्वारा नयाँ राजनीतिक अभियान सुरु



काठमाडौं । व्यवसायी तथा बुद्ध एयरका प्रबन्ध निर्देशक वीरेन्द्रबहादुर बस्नेतसहित तीन जनाको समूहले ‘गतिशील लोकतान्त्रिक पार्टी’ नामक नयाँ राजनीतिक दल गठन गरेका छन्। निर्वाचन आयोगमा बिहीबार दर्ता भएको पार्टीको अध्यक्षमा दिनेश प्रसाईं, महासचिवमा पियुश कायस्थ तथा सदस्यमा बस्नेत रहेका छन्।

पार्टीले “सबै मिलौं, देश बचाऊँ, देश बनाऊँ” भन्ने नारासहित राजनीतिक गतिविधि सुरु गरेको छ। विगतका स्थापित दलहरूप्रति बढ्दो जनआक्रोश र असन्तुष्टिलाई सम्बोधन गर्ने उद्देश्यसहित नयाँ दल अघि आएको बताइएको छ।

पार्टीले राजनीतिमा पेशावादको अन्त्य, पारदर्शिता र जवाफदेही शासन प्रणाली स्थापना गर्ने लक्ष्य राखेको छ। आह्वानपत्रमा उल्लेख अनुसार, हालको राजनीतिक व्यवस्थाले जनअपेक्षा पूरा गर्न नसकेको भन्दै नयाँ सोच र नेतृत्व आवश्यक भएको निष्कर्ष निकालिएको छ।

दलले एक व्यक्ति एक पद र दुई कार्यकालको सिमाना, सार्वजनिक र पार्टी पदमा फरक व्यक्ति रहने व्यवस्था, तथा सबै आर्थिक विवरण अनलाइनमार्फत सार्वजनिक गर्ने नीति अघि सारेको छ। २० प्रतिशतभन्दा कम मत प्राप्त गरेमा सरकारमा नजाने अडानलाई समेत पार्टीले आफ्नो विशेषता भनेको छ।

गत भदौ २४ मा भएको ‘जेन जेड आन्दोलन’मा देखिएको जनशक्ति र असन्तोषलाई वर्तमान राजनीतिले सम्बोधन गर्न नसकेको दाबी गर्दै, नयाँ पार्टीले दीर्घकालीन समाधानका लागि युवा पुस्तालाई अगाडि ल्याउने उद्देश्य जनाएको छ।

विधिको शासनलाई लोकतन्त्रको मेरुदण्ड मानेको पार्टीले, सर्वसाधारणदेखि उच्चपदस्थसम्म सबैले कानुनी दायरामा रहनुपर्ने स्पष्ट पारेको छ। त्यस्तै, उद्यमशीलता र निजी क्षेत्रलाई अर्थतन्त्रका आधारस्तम्भका रूपमा सम्मान र संरक्षण गरिने उल्लेख गरिएको छ।

पार्टीले तिहारलगत्तै विस्तृत घोषणापत्र र कार्यक्रमहरू सार्वजनिक गर्ने तयारी गरेको छ। वर्तमान दलप्रति असन्तुष्ट जनमतलाई आकर्षित गर्दै, नयाँ विकल्पको रूपमा स्थापित हुने पार्टीको अपेक्षा रहेको छ।

प्रकाशित : 16 October, 2025 3:39 pm