सेयर धितो कर्जाको सीमा हट्यो, अब व्यक्तिले पनि जति चाह्यो त्यति कर्जा लिन सक्ने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

सेयर धितो कर्जाको सीमा हट्यो, अब व्यक्तिले पनि जति चाह्यो त्यति कर्जा लिन सक्ने



काठमाडौं । नेपाल राष्ट्र बैंकले सेयर धितो कर्जामा लगाइएको व्यक्तिगत सीमा हटाएको छ। केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई बिहीबार परिपत्र जारी गर्दै, शेयर धितोमा प्रवाह हुने ‘मार्जिन प्रकृतिको कर्जा’ को अधिकतम एकल ग्राहक कर्जा सीमा सम्बन्धी साबिकको व्यवस्था खारेज गरेको हो।

यसअघि राष्ट्र बैंकको निर्देशन अनुसार कुनै एक वा सबै इजाजतपत्रप्राप्त संस्थाबाट एक व्यक्तिले शेयर धितोमा बढीमा २५ करोड रुपैयाँसम्म मात्र कर्जा लिन सक्थ्यो। तर अब उक्त सीमा पूर्ण रूपमा हटाइएपछि, व्यक्तिहरूले आफ्नो शेयर धितो राखेर बैंक तथा वित्तीय संस्थाबाट जति पनि कर्जा लिन सक्ने भएका छन्।

अर्थ मन्त्रालयले केही समयअघि बनाएको पूँजीबजार सुधार कार्यदलले शेयर धितो कर्जाको सीमा हटाउन सुझाव दिएको थियो। सोही सुझावको कार्यान्वयनस्वरूप राष्ट्र बैंकले पुरानो व्यवस्था रद्द गरेको हो।


प्रकाशित : 9 October, 2025 7:01 am