बस्नेतको बालेनमाथि आक्रोश- हर्कलाई खोलामा धकेले, देशमा अराजकता ल्याए’ « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थ राजनीति

बस्नेतको बालेनमाथि आक्रोश- हर्कलाई खोलामा धकेले, देशमा अराजकता ल्याए’



काठमाडौं । नेकपा (एमाले) का नेता महेश बस्नेतले काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमार्फत काठमाडौं महानगर प्रमुख बालेन शाह, सुदन गुरुङसहितको समूहमाथि गम्भीर आरोप लगाएका छन्। उनले उनीहरूलाई ‘विदेशी दलाल’ को संज्ञा दिँदै आपराधिक गतिविधिमा संलग्न भएको दाबी गरेका छन्।

बस्नेतले भने, “बालेन र सुदनलगायतका यी टोलीहरू विदेशी दलाल हुन्। यिनीहरूले आपराधिक गतिविधि गरेका छन्, त्यसैले कारबाही उनीहरूबाट सुरु गर्नुपर्छ।”

उनले हालैको आन्दोलन र संसद् विघटनसम्बन्धी विषयमा एमालेले चाँडै औपचारिक धारणा सार्वजनिक गर्ने जानकारी पनि दिए। संसद् विघटन वैधानिक कि अवैधानिक भन्ने प्रश्न उठाउँदै उनले भने, “संसद् पुनःस्थापनाको माग लिएर हामी सर्वोच्च अदालतको ढोका ढकढक्याउने तयारीमा छौं। पार्टीले आधिकारिक रूपमा जाने कि कानुन व्यवसायीमार्फत जाने भन्ने विषयमा अन्तिम छलफल भइरहेको छ।”

बस्नेतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्तामाथि पनि आरोप लगाउँदै, हालैको आन्दोलनका क्रममा उनीहरूले आफ्ना घरमा आगजनी गरेको दाबी गरे। “हाम्रो घर जलाउनका लागि रास्वपाका कार्यकर्ता आएका थिए। यी सबैको एक–एक हिसाब हामीले राखिरहेका छौं,” उनले भने।

उनका अनुसार, सुरुमा जेनजी आन्दोलन शान्तिपूर्ण थियो र भ्रष्टाचार तथा ‘नेपो बेबी’ संस्कृति विरुद्ध केन्द्रित थियो। तर, आन्दोलनमा घुसपैठ भएपछि हिंसात्मक घटना घटेको दाबी गरे। “जेनजीले शान्तिपूर्ण आन्दोलन गरेका थिए, तर बीचमा घुसपैठ भयो। त्यसपछि ४ घण्टाभित्र देशलाई ध्वस्त पार्ने काम भयो,” उनले भने।

बस्नेतले बालेन शाहले आन्दोलनका सहयात्रीहरूलाई पछि त्यागेको आरोप पनि लगाए। “जब आन्दोलनको ठूलो आँधी आयो, बालेनले हर्क साम्पाङदेखि सबैलाई खोलामा धकेले। अहिले हर्क साम्पाङ धरानबाट कराउँदैछन्,” उनको भनाइ थियो।

प्रकाशित : 8 October, 2025 1:15 pm