बीमा प्राधिकरणद्वारा बीमा दाबी छिटो भुक्तानी गर्न निर्देशन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बीमा

बीमा प्राधिकरणद्वारा बीमा दाबी छिटो भुक्तानी गर्न निर्देशन



काठमाडौं । हालैको जेनजी आन्दोलनका क्रममा भएका भौतिक र अन्य क्षतिहरूको बीमा दाबी तथा भुक्तानीको विषयमा नेपाल बीमा प्राधिकरणले निर्जीवन बीमा, लघु निर्जीवन बीमा र पुनर्बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरूसँग छलफल गरेको छ।

प्राधिकरणका कार्यकारी निर्देशक सुशील देव सुवेदीले बीमक कम्पनीहरूलाई बीमा दाबीको भुक्तानी छिटोछरितो रूपमा गर्न निर्देशन दिएका छन्। उनले दाबी योग्य घटनाको सन्दर्भमा ढिलासुस्ती नगरी प्रारम्भिक सर्भे रिपोर्टकै आधारमा भुक्तानी प्रक्रिया अगाडि बढाउनुपर्नेमा जोड दिए।

“बीमितले पैसा पाएको अनुभूति गर्नुपर्छ, र आम नागरिकलाई दाबी भुक्तानी भएको विषयमा स्पष्ट जानकारी दिनुपर्छ,” सुवेदीले बताए। उनले बीमक कम्पनीहरूले बीमितलाई र पुनर्बीमकहरूले बीमकहरूलाई समयमै एडभान्स रकम उपलब्ध गराउनुपर्ने बताए।

त्यसैगरी, गलत तथ्याङ्क प्रस्तुत गर्ने बीमकहरूमाथि प्राधिकरण कडा रूपमा प्रस्तुत हुने चेतावनी समेत दिएका छन्। तरलता अभाव नहोस् भन्ने उद्देश्यले पुनर्बीमा कम्पनीहरूलाई तरलता प्रवाहमा प्राथमिकता दिन निर्देशन दिइएको छ।

छलफलमा सहभागी निर्जीवन तथा लघु निर्जीवन बीमा कम्पनीका सीईओहरूले आन्दोलनका क्रममा भएका क्षतिको बीमा दाबी भुक्तानी गर्न आफूहरू सक्षम रहेको बताएका छन्। उनीहरूले साना दाबीहरूको भुक्तानी भइरहेको जानकारी गराउँदै ठूला दाबीहरूका लागि नगद प्रवाह र तरलता व्यवस्थापनमा पुनर्बीमा कम्पनीहरूको सहकार्य आवश्यक रहेको धारणा राखेका छन्।

बीमक कम्पनीहरूले क्षतिको मूल्यांकनका लागि बीमा सर्भेयरहरू फिल्डमा खटाइसकेको र सर्भे प्रतिवेदन संकलनको प्रक्रिया जारी रहेको पनि छलफलमा जानकारी गराइएको छ।

पुनर्बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र थापाले पुनर्बीमा बापतको दाबी रकम भुक्तानी गर्न कम्पनी सक्षम रहेको स्पष्ट पार्दै आवश्यक प्रक्रिया पुरा गरी यथाशीघ्र रकम उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन्।

उक्त छलफलमा बीमा प्राधिकरणका निर्देशकहरू पूजन ढुङ्गेल अधिकारी, ध्रुव तिमिल्सिना, शाम्भराज लामिछाने, निर्मल अधिकारी तथा बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरूको सहभागिता रहेको थियो।

प्रकाशित : 7 October, 2025 9:04 pm