काठमाडौं — संयुक्त अरब इमिरेट्सका लागि नेपाली राजदूत तेजबहादुर क्षेत्रीले जेनजी आन्दोलनपछि उत्पन्न राजनीतिक अस्थिरता र सुरक्षा चुनौतीका कारण यूएई सरकारले भिजिट, कामदार र विद्यार्थी भिसामा कडाइ गरेको बताएका छन्।
उनका अनुसार आन्दोलनका क्रममा बाहिरिएका कैदीबन्दीलाई नियन्त्रणमा नलिएसम्म यूएईजस्ता मुलुकहरूले भिसा प्रक्रियामा कडाइ अपनाउन सक्ने स्थिति देखिएको छ।
“यूएई आफैंमा अत्यन्त शान्त, सुरक्षित र आर्थिक समृद्ध मुलुक हो,” राजदूत क्षेत्रीले भने, “तर नेपालमा जेनजी आन्दोलनपछि जेलबाट निस्किएका कैदीबन्दीहरू पुनः नियन्त्रणमा नआएसम्म भिसामा कडाइ हुन सक्ने सम्भावना छ।”
क्षेत्रीका अनुसार भिसा कडाइसम्बन्धी कुनै औपचारिक जानकारी दूतावासले अहिलेसम्म प्राप्त नगरे पनि यूएई सरकारले सुरक्षाको दृष्टिले सावधानीका कदम चालेको हुन सक्छ।
उनले नेपालमा राजनीतिक स्थिरता र विश्वसनीय वातावरण स्थापित भएपछिमात्र भिसा नीतिमा सहजता आउने विश्वास व्यक्त गरे। “युएईमा रहेका नेपालीहरू मेहनती, इमानदार र विश्वसनीय भएकाले त्यहाँका जनताले समेत रोजगारीका अवसरमा प्राथमिकता दिएका छन्,” उनले भने।
राजदूत क्षेत्रीले युएईमा नेपालीले नेपालीलाई गर्ने ठगी र मानव बेचबिखनका घटनाबारे गम्भीर चिन्ता व्यक्त गरे। भिजिट भिसा लिएर रोजगारको लोभ देखाई ठगी गर्ने दलालहरूको संलग्नता बढ्दै गएको उनले बताए।
“दूतावासमा यस्ता घटनाबारे धेरै उजुरी आएका छन्। प्रमाणसहित उजुरी आए अनुसन्धान र कारबाही तुरुन्त अघि बढाइन्छ,” उनले चेतावनी दिए।
उनका अनुसार युएईमा हाल सात लाखभन्दा बढी नेपाली रहेका छन्, जसका कारण ठगी, मानव बेचबिखन र आपराधिक गतिविधि पनि बढ्दै गइरहेका छन्। उनले नेपाली कामदारहरूलाई सरकारबाट स्वीकृत एजेन्सीमार्फत मात्र रोजगारमा आउन र भुक्तानीको बैंक प्रमाण राख्न आग्रह गरे।





Comment