काठमाडौं । देशभर बाढी, पहिरो र डुबानको जोखिम तीव्र बन्दै गइरहेका बेला प्रधानमन्त्री सुशीला कार्कीले शनिबार साँझ विशेष भिडियो सन्देशमार्फत देशवासीलाई सम्बोधन गर्दै नागरिकको सुरक्षा सरकारको सर्वोच्च प्राथमिकता भएको स्पष्ट पार्नुभएको छ।
उहाँले भन्नुभयो, “जोखिमपूर्ण अवस्थामा राज्यका सम्पूर्ण स्रोत–साधन जनताको सेवामा परिचालित छन्। तपाईंहरू एक्ला हुनुहुन्न, राज्य तपाईंहरूको साथमा छ।” प्रधानमन्त्री कार्कीले विपद्का घडीमा सरकार नागरिकसँग प्रतिवद्ध रहेको उल्लेख गर्दै आवश्यक सहयोग लिन अप्ठ्यारो नमान्न पनि आग्रह गर्नुभयो।
उहाँले हालको मौसमीय अवस्था अझै जटिल र जोखिमपूर्ण बन्न सक्ने सम्भावनामा उच्च सतर्कता अपनाउन जनतालाई आह्वान गर्नुभयो। “बाढी, पहिरो, डुबान र कटानको खतरा बढ्दो छ। लगातार वर्षाका कारण नदीनालाहरूको बहाव उच्च सतर्कताको तहमा पुगेको छ,” प्रधानमन्त्रीले भन्नुभयो।
सन्देशमा उहाँले नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना, स्वास्थ्यकर्मी तथा प्रशासनिक निकायहरू उद्धार तथा राहत कार्यमा २४ घण्टा तयारी अवस्थामा रहेको जानकारी दिनुभयो। विपद्को अवस्थामा पनि सरकारी संयन्त्र उच्च मनोबलका साथ सक्रिय रहेको उहाँको भनाइ छ।
प्रधानमन्त्रीले देशवासीहरूलाई सुरक्षामा रहन र अरूलाई पनि त्यसका लागि प्रेरित गर्न आग्रह गर्दै भन्नुभयो, “तपाईं जहाँ हुनुहुन्छ, सुरक्षित रहनुहोस्। राज्यका सबै संयन्त्र तपाईंहरूको सुरक्षाका लागि तत्पर छन्।”





Comment