‘हल्ला’ होइन, ‘डेटा’ हेरेर लगानी गर्नुहोस् – नयाँ लगानीकर्ताका लागि गाइड « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

टिप्स

‘हल्ला’ होइन, ‘डेटा’ हेरेर लगानी गर्नुहोस् – नयाँ लगानीकर्ताका लागि गाइड



काठमाडौं । नेपालको सेयर बजारमा पछिल्लो समय नयाँ लगानीकर्ताहरूको संख्यामा उल्लेख्य वृद्धि देखिएको छ। तर आवश्यक जानकारीको अभावमा धेरैजसो लगानीकर्ताहरूले नोक्सानी व्यहोर्नुपरेको छ।

विशेषज्ञहरूका अनुसार सेयर बजारमा लगानी गर्नुअघि सम्बन्धित कम्पनीको विवरणपत्र, प्रबन्धपत्र, आर्थिक विवरण, वार्षिक प्रतिवेदन, र संस्थापक सञ्चालकसम्बन्धी विवरणहरू अध्यन गर्नुपर्छ। साथै, धितोपत्र बोर्ड, स्टक एक्सचेन्ज तथा अन्य संगठित निकायहरूले सार्वजनिक गर्ने सूचना पनि मूल्यमा प्रत्यक्ष प्रभाव पार्ने भएकाले तिनको अध्ययन अनिवार्य मानिन्छ।

लगानीकर्ताका लागि महत्वपूर्ण सुझावहरू:

कम्पनीको आम्दानी हेर्नुहोस्:
लगानी गर्नु अघि पछिल्ला वर्षहरूको प्रति सेयर आम्दानी (EPS) हेर्नु महत्त्वपूर्ण छ। आम्दानी बढ्दै गएको वा बढ्ने सम्भावना भएका कम्पनीमा लगानी गर्नु लाभदायक हुनसक्छ।

P/E रेसियो कम भएको कम्पनी रोज्नुहोस्:
विशेषज्ञहरूका अनुसार नयाँ लगानीकर्ताले १५ भन्दा कम P/E रेसियो भएका कम्पनीहरू रोज्दा लगानी सुरक्षित हुने सम्भावना बढी हुन्छ।

विश्वसनीय स्रोतबाट जानकारी लिनुहोस्:
विश्वास लागेका धितोपत्र दलाल, वित्तीय सल्लाहकार वा विश्लेषकबाट सल्लाह लिएर मात्र निर्णय लिन सुझाव दिइन्छ।

हल्लाबाट बच्नुहोस्:
बजारमा फैलिने अफवाह वा प्रचारमा भर नपरी, आफ्नै स्वविवेक र अध्ययनका आधारमा लगानी निर्णय गर्नु उपयुक्त हुन्छ।

कम्पनीको गतिविधिमा अपडेट रहनुहोस्:
लगानी गरेको कम्पनीको गतिविधिबारे निरन्तर जानकारी राख्नु र साधारण सभामा सहभागी हुनु लगानी सुरक्षाका लागि आवश्यक हुन्छ।

धितोपत्र बोर्डका अनुसार दोस्रो बजारमा कारोबार गर्दा जोखिम, प्रतिफल र भविष्यको सम्भावनाबारेमा स्पष्ट जानकारीका आधारमा मात्र लगानी गर्नु पर्ने हुन्छ।

नयाँ लगानीकर्ताले अध्ययन, योजना र सल्लाहको संयोजनमार्फत अघि बढेमा दीर्घकालीन लाभ उठाउन सक्ने विज्ञहरूको विश्वास छ।

प्रकाशित : 26 September, 2025 7:39 am