बाल दिवसको अवसरमा आभाष सहकारीद्वारा बाल बचतकर्तालाई शैक्षिक सामग्री वितरण « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

बाल दिवसको अवसरमा आभाष सहकारीद्वारा बाल बचतकर्तालाई शैक्षिक सामग्री वितरण



काभ्रेपलाञ्चोक – बनेपामा अवस्थित आभाष बचत तथा ऋण सहकारी संस्थाले राष्ट्रिय बाल दिवसको अवसरमा संस्थामा आवद्ध बाल बचतकर्तालाई शैक्षिक सामग्री वितरण कार्यक्रम सुरु गरेको छ।

संस्थाले प्रत्येक वर्षजस्तै यस वर्ष पनि बाल बचतकर्ताको प्रोत्साहनका लागि शैक्षिक सामग्री वितरण कार्यक्रमको आयोजना गरेको हो। कार्यक्रम आजबाट औपचारिक रूपमा सुरु गरिएको संस्थाले जानकारी दिएको छ।

संस्थाका मुख्य प्रवन्धक सुवास बैद्यका अनुसार, सामग्री वितरण बाल बचतकर्ताहरूको बचत रकम, कार्यक्रममा सहभागिता तथा सक्रियताको आधारमा गरिएको हो।

६ हजार सदस्य रहेको संस्थामा हाल ९७० जना बाल बचतकर्ता छन्। सहकारीले विगत केही वर्षदेखि बालबालिकामा बचत संस्कार विकास गर्न विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ।

“बालबालिकालाई आर्थिक सचेतना र शैक्षिक प्रोत्साहन दिनु हाम्रो संस्थाको मुख्य उद्देश्य हो,” प्रमुख प्रवन्धक बैद्यले बताए। उनका अनुसार यस्ता कार्यक्रमले बालबालिकामा आर्थिक अनुशासन, उत्तरदायित्व र शिक्षाप्रति प्रेरणा जगाउने विश्वास गरिएको छ।

संस्थाले आगामी दिनमा पनि बाल तथा युवाहरूमाझ लक्षित कार्यक्रमलाई अझ प्रभावकारी ढंगले सञ्चालन गर्ने प्रतिबद्धता जनाएको छ।

प्रकाशित : 20 September, 2025 6:09 pm