जेनजीको ६ बुँदे माग सार्वजनिक, अन्तरिम सरकार गठनदेखि संविधान पुनर्लेखन सम्म « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थ राजनीति

जेनजीको ६ बुँदे माग सार्वजनिक, अन्तरिम सरकार गठनदेखि संविधान पुनर्लेखन सम्म



काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र नेपाली सेनाले वार्ताका लागि आह्वान गरेपछि जेनजी समूहले आफ्नो ६ बुँदे माग सार्वजनिक गरेको छ। उनीहरूले विगत तीन दशकमा लुटपाट भएको सम्पत्ति छानबिन गरी अवैध सम्पत्ति राष्ट्रियकरण गर्नुपर्ने माग अघि सारेका छन्।

जेनजीका अनुसार शिक्षा, स्वास्थ्य, न्याय, सुरक्षा र सञ्चारजस्ता पाँचवटा आधारभूत संस्थाको संरचनागत सुधार र पुनर्गठन तत्कालै गर्नुपर्ने छ। साथै, वर्तमान राजनीतिक शून्यता र अस्थिरतालाई सम्बोधन गर्न जेनजी पुस्ताको नेतृत्वमा अन्तरिम सरकार गठन गर्नुपर्ने पनि उनीहरूको प्रमुख माग हो।

अन्तरिम सरकारलाई असफल पुराना दलहरूको प्रभावबाट मुक्त राख्नुपर्ने भन्दै उनीहरूले सम्पूर्ण हिंसात्मक गतिविधि रोक्न, नागरिक सुरक्षाको ग्यारेन्टी गर्न र राष्ट्रिय एकताको वातावरण निर्माण गर्न प्राथमिकता दिनुपर्ने बताएका छन्। यसका लागि सेना, प्रहरी र सशस्त्र निकायलाई जनसेवामा पुनः उन्मुख गरिने प्रस्ताव गरिएको छ।

त्यसैगरी, प्रतिनिधि सभा जनताको विश्वास गुमाइसकेको भन्दै तत्कालै विघटन गर्नुपर्ने, नयाँ पुस्ताको आकांक्षा र जनताको चाहनालाई प्रतिविम्बित गर्ने संविधान पुनरावलोकन वा पूर्ण पुनर्लेखन गर्नुपर्ने माग पनि राखिएको छ। यो प्रक्रियामा नागरिक, विज्ञ तथा विशेष गरी युवाको सक्रिय सहभागिता सुनिश्चित गर्नुपर्ने जेनजीको भनाइ छ।

अन्तरिम अवधि पूरा भएपछि स्वतन्त्र, निष्पक्ष र प्रत्यक्ष जनसहभागितामा आधारित चुनाव मार्फत प्रत्यक्ष निर्वाचित कार्यकारी नेतृत्व चयन गर्नुपर्ने जेनजीले स्पष्ट पारेका छन्।

प्रकाशित : 10 September, 2025 9:34 am