देशभर सरकारी र निजी सम्पत्तिमा आगजनी, सिंहदरबारसहित मुख्य कार्यालय नष्ट « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थ राजनीति

देशभर सरकारी र निजी सम्पत्तिमा आगजनी, सिंहदरबारसहित मुख्य कार्यालय नष्ट



काठमाडौ । जेन्जी समूहको आन्दोलनका कारण देशभर अभूतपूर्व भौतिक क्षति भएको छ। कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकाका मुख्य भवनदेखि लिएर विभिन्न सार्वजनिक तथा निजी संरचना आगजनी र तोडफोडका घटनामा परेका छन्। आन्दोलनका क्रममा धेरै महत्वपूर्ण कागजात र अभिलेख नष्ट भएका छन्।

हिजोको दिनलाई देशको इतिहासमै सबैभन्दा ठूलो क्षतिको दिन मानिएको छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित अन्य मन्त्रालयका भवन, सर्वोच्च अदालत र संघीय संसद् भवन पूर्ण रूपमा जलेर नष्ट भएका छन्। यस्तै, महान्यायाधीवक्ताको कार्यालय, सडक विभाग, विशेष अदालत, अख्तियार दुरुपयोग अनुसन्धान आयोग लगायतका संवेदनशील कार्यालयहरू समेत आगलागीबाट ध्वस्त भएका छन्।

आन्दोलनकारीहरूले विभिन्न राजनीतिक दलका कार्यालयमा समेत तोडफोड र आगजनी गरेका छन्। प्रमुख दलका नेताहरू जस्तै एमाले अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालको निवासमा समेत क्षति पुगेको छ।

देशका मुख्य शहरहरूमा सरकारी र निजी सम्पत्तिमा ठूलो क्षति पुगेको छ। दिनभर चर्किएको हिंसात्मक आन्दोलनका कारण विभिन्न प्रदेश राजधानी र जिल्लामा प्रशासनिक भवन, प्रहरी कार्यालय र बिट जलाईएका छन्। साथै, विभिन्न राजनीतिक दलका स्थानीय कार्यालय र नेताहरूका घरमा पनि आगजनी र तोडफोड भएका छन्।

यस घटनापछि देशभर त्रास र अशान्ति फैलिएको छ भने क्षतिको यथार्थ विवरण संकलन गर्ने कार्य जारी छ।

प्रकाशित : 10 September, 2025 8:01 am