भक्तपुर – सहकारी विभागबाट जारी गरिएको एकीकृत निर्देशन २०८२ विषयक अन्तरक्रिया कार्यक्रम भक्तपुरमा सम्पन्न भएको छ। भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेडको आयोजनामा भएको उक्त कार्यक्रम भक्तपुर बचत तथा ऋण सहकारी संस्था लिमिटेड, च्याम्हासिंहको सभाहलमा आज सम्पन्न गरिएको हो।
कार्यक्रम उद्घाटन गर्दै संघका अध्यक्ष कृष्णगोविन्द लाखाजूले सहकारी क्षेत्रका सदस्य संस्थालाई निर्देशनबारे जानकारी गराउने र एकीकृत धारणा बनाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताउनुभयो। उहाँले सहकारी क्षेत्रको समस्या दोहोरो सदस्यताका कारण नभई संचालकहरूको अनियमितता र गैरजिम्मेवारीका कारण उत्पन्न भएको धारणा व्यक्त गर्नुभयो।
लाखाजूका अनुसार संघले लामो समयदेखि ‘एक सदस्य, एक सहकारी’ को सिद्धान्तमा वकालत गर्दै आएको छ। साथै, संघको पहलमा अध्यक्ष, उपाध्यक्ष, सचिव, कोषाध्यक्ष र लेखा सुपरिवेक्षण समितिका संयोजकको हकमा दुई कार्यकालसम्म पदमा रहने व्यवस्था निर्देशनमा समावेश भएको जानकारी दिनुभयो। उहाँले तरलता १५ प्रतिशत नपुगेमा सहकारी संस्थाले लाभांश वितरण नगर्नुपर्ने र घाटा व्यवस्थापक तथा संचालकले व्यहोर्नुपर्ने प्रावधान ल्याइएको पनि बताउनुभयो।
संघका उपाध्यक्ष हरिकृष्ण बल्लले स्वागत मन्तव्य राख्दै सहकारी विभागले ल्याएको नयाँ निर्देशन सहकारी संस्थालाई सही दिशा दिने र सुशासन प्रवर्द्धनमा टेवा पुर्याउने धारणा राख्नुभयो। उहाँले सदस्य संस्थाहरूलाई निर्देशनलाई सकारात्मक रूपमा ग्रहण गर्न आग्रह गर्नुभयो।
त्यसैगरी संघका प्रमुख कार्यकारी अधिकृत बालकृष्ण धोजूले निर्देशनबारे विस्तृत प्रस्तुति दिँदै सहकारी क्षेत्रलाई विभिन्न नियामक निकायबाट आउने फरक-फरक निर्देशनले दोहोरिने र बाझिने समस्या निम्त्याएको बताउनुभयो। यस समस्याको समाधानका लागि एकद्वार प्रणाली बाट मात्र निर्देशन जारी गर्नुपर्नेमा उहाँले जोड दिनुभयो।
कार्यक्रममा संघमा आवद्ध विभिन्न सहकारी संस्था, पदाधिकारी तथा कर्मचारी गरी १०७ जनाको सहभागिता रहेको आयोजकले जनाएको छ। कार्यक्रमको सञ्चालन संघकी अधिकृत कृष्णश्वरी ह्यौंमिखाले गर्नुभएको थियो।





Comment