काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले आगामी भाद्र २४ गते विशेष साधारण सभा आयोजना गर्ने भएको छ। ललितपुरको झम्सिखेलस्थित द प्लाजामा हुने उक्त सभामा नाडालाई विधानतः महासंघमा रूपान्तरण गर्ने ऐतिहासिक निर्णय गरिने नाडाले जनाएको छ।
नाडाका महासचिव सुरेन्द्र कुमार उप्रेतीले आइतबार विज्ञप्ति जारी गर्दै गत २०८२ भाद्र ८ गते बसेको नाडाको २१औं केन्द्रीय कार्यसमिति बैठकले डेढ दशक लामो प्रतीक्षापछि नाडालाई महासंघमा लैजाने निर्णय गरेको र त्यसैको निर्णय कार्यान्वयनका लागि विशेष साधारण सभा बोलाइएको जानकारी गराएका छन्।
उनका अनुसार यस कदमले नाडालाई वास्तविक अर्थमै राष्ट्रिय स्तरको संस्था बनाउने मात्र नभई आफ्ना सदस्यहरूको हकहित संरक्षणमा समेत महत्वपूर्ण टेवा पुग्नेछ।
नाडाले भनेको छ – “स्वयम् सदस्यहरूको लामो समयदेखिको इच्छा, चाहना र आकांक्षालाई मूर्त रूप दिन यस्तो निर्णय गरिएको हो। यसले अटोमोबाइल व्यवसायसँग आबद्ध सबैलाई साझा छाता संगठनको अनुभव दिनेछ।”
विशेष साधारण सभामा सहभागी भई संस्थालाई महासंघमा रूपान्तरण गर्ने ऐतिहासिक प्रक्रियामा सबै सदस्यलाई उपस्थित हुन नाडाले आग्रह समेत गरेको छ।





Comment