काठमाडौं । नारायणी डेभलपमेन्ट बैंक लिमिटेडले आगामी असोज २ गतेदेखि हकप्रद सेयर निष्कासन गर्ने भएको छ। बैंकले हाल कायम २६ करोड २४ लाख ६७ हजार ६ सय कित्ता चुक्तापूँजीको आधारमा १ः१ अनुपातमा हकप्रद ल्याउन लागेको हो। यस अनुसार, बैंकले रु.१०० अंकित दरमा २६ लाख २४ हजार ६७६ कित्ता अर्थात ७० करोड रुपैयाँबराबरको हकप्रद सेयर जारी गर्ने तयारी गरेको छ।
यस प्रयोजनका लागि बैंकले गत भदौ ९ गते एक दिनका लागि बुक क्लोज गरेको थियो। त्यसैले भदौ ८ गतेसम्म नेप्सेमा कारोबार भई नाम दर्ता भएका सेयरधनीहरू मात्रै हकप्रद सेयर खरिदका लागि पात्र हुनेछन्।
हकप्रद सेयरमा आवेदन दिने अन्तिम मिति असोज २२ गते तोकिएको छ। लगानीकर्ताले बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलमार्फत मात्र होइन, ग्लोबल आइएमईको नवलपरासीस्थित भूमरी शाखा, नारायणी डेभलपमेन्ट बैंकको केन्द्रीय कार्यालयसहित यज्ञपुरी, टाँडी, चितवन पर्सा र नारायणगढ शाखाबाट समेत आवेदन दिन सक्ने व्यवस्था गरिएको छ।
त्यसैगरी, नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सि–आस्बा सेवामा आवद्ध बैंक तथा वित्तीय संस्था र ‘मेरो सेयर’ प्रणालीमार्फत पनि आवेदन पेश गर्न सकिनेछ।
बैंकको हकप्रद निष्कासन प्रयोजनका लागि इक्रा नेपालले ‘इक्रा एनपी इस्योर रेटिङ सी प्लस’ प्रदान गरेको छ। यस रेटिङले वित्तीय दायित्व समयमै पूरा गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्दछ।
यस हकप्रदको बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ। बैंकले चुक्तापूँजीको शतप्रतिशत हकप्रद सेयर जारी गर्न नेपाल धितोपत्र बोर्डबाट साउन १५ गते अनुमति पाएको हो। यसअघि, बैंकको विशेष साधारण सभाले २०७९ असार ८ गते नै हकप्रद जारी गर्ने प्रस्ताव अनुमोदन गरेको थियो।





Comment