बिराटनगर । नेपाल र ईजरायलबीच व्यापार विस्तार, निजी क्षेत्रबीच सहकार्य र प्रविधि हस्तान्तरणबारे उद्योग संगठन मोरङले बिहीबार ईजरायली राजदूत श्मूलिक एरिक वाससँग अन्तरक्रिया कार्यक्रम गरेको छ।
कार्यक्रममा संगठनका अध्यक्ष नन्दकिशोर राठीले दुई देशबीच आपसी पूरक क्षमता पहिचान गरेर संयुक्त उद्यम, लगानी र प्राविधिक साझेदारीका अवसर खोज्नुपर्ने बताए। उनले हरितगृह प्रविधि, बाली व्यवस्थापन र प्रशोधनजस्ता क्षेत्रमा इजरायलको अनुभव नेपालका लागि उपयोगी हुने उल्लेख गर्दै ज्ञान आदान–प्रदान र तालिममार्फत दीर्घकालीन सहकार्य आवश्यक रहेको धारणा राखे।
ईजरायली राजदूत वासले नेपाल–इजरायल सम्बन्ध ऐतिहासिक रूपमा मित्रतापूर्ण रहेको उल्लेख गर्दै व्यापार र व्यवसाय केवल आर्थिक वृद्धिको माध्यम मात्र नभई सामाजिक रूपान्तरणको आधारसमेत हुने बताए। उनले नेपालबाट निर्यात हुन सक्ने सम्भावित वस्तु पहिचान गर्न इजरायल इच्छुक रहेको जनाउँदै यसले नेपालको उद्योगलाई अन्तर्राष्ट्रिय बजारसम्म पुर्याउने अवसर दिन सक्ने बताए।
राजदूत वासले कृषि आधुनिकीकरण, उद्यमशीलता विकास र उत्पादनशीलता वृद्धि गर्न इजरायलले आफ्नो प्रविधि तथा अनुभव साझा गर्न सक्ने प्रतिबद्धता व्यक्त गरे। साथै, निजी क्षेत्रबीचको सहकार्यलाई सहज बनाउन आफूले आवश्यक पहल गर्ने उनले स्पष्ट पारे।
अन्तरक्रियामा संगठनका कोषाध्यक्ष तथा अन्तर्राष्ट्रिय व्यापार प्रवर्द्धन समितिका संयोजक पारस लुनियाले नेपाल–इजरायलबीचको वार्षिक व्यापार ९ मिलियन अमेरिकी डलरभन्दा माथि पुगे पनि सन्तुलन इजरायलतर्फ झुकेको बताए। उनले नेपालले मुख्यतः गलैचा, हस्तकला र छालाजन्य वस्तु निर्यात गर्ने र इजरायलबाट औषधि, प्रसारण तथा कृषि उपकरण आयात गर्ने तथ्य प्रस्तुत गरे। लुनियाले कोशी प्रदेशमा इजरायली कृषि प्रविधि प्रयोग गरी संयुक्त पाइलट परियोजना सञ्चालन गर्न सकिने सम्भावनासमेत औंल्याए।
सो अवसरमा संगठनका उपाध्यक्ष विपिन कावराले नेपाल–इजरायलबीच सिधा हवाई कार्गो सेवा सुरु गर्न आग्रह गरे भने निवर्तमान अध्यक्ष राकेश सुरानाले कृषिको आधुनिकीकरणमा इजरायलले गरेको प्रगति नेपाललाई प्रविधि हस्तान्तरणमार्फत सहयोग गर्नुपर्ने बताए।
कार्यक्रममा नेपाली केयरगिभरहरूको योगदान, ‘लर्न एण्ड अर्न’ कार्यक्रम, छात्रवृत्ति र विपिन जोशीको रिहाइबारे पनि विषय उठाइयो। सहभागीहरूले दीर्घकालीन साझेदारी, लगानी, सीप आदानप्रदान र प्रविधि सहयोगले दुवै मुलुकलाई फाइदा हुने निष्कर्ष निकाल्दै आपसी सम्बन्धलाई अझ प्रगाढ बनाउन आग्रह गरे।





Comment