३१ प्रतिशतले बढ्यो विदेशी विनिमय सञ्चिति « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
१० मंसिर २०८३, बिहिबारThursday, November 26, 2026

अर्थबजार स्टोरी

३१ प्रतिशतले बढ्यो विदेशी विनिमय सञ्चिति

काठमाडौं । नेपालले विदेशी मुद्रामा आर्जन गरेको विनिमय सञ्चिति गत आर्थिक वर्षमा उल्लेख्य रूपमा बढेको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार, २०८१ असार मसान्तमा २० खर्ब ४१ अर्ब १० करोड रुपैयाँबराबर रहेको कुल विदेशी विनिमय सञ्चिति ३१.२ प्रतिशतले वृद्धि भई २०८२ असार मसान्तमा साढे २६ खर्ब रुपैयाँ नाघ्दै २६ खर्ब ७७ अर्ब ६८ करोड पुगेको छ।

अमेरिकी डलरमा यस्तो सञ्चिति २०८१ असार मसान्तमा १५ अर्ब २७ करोड रहेकोमा २०८२ असार मसान्तमा २७.७ प्रतिशतले वृद्धि भई १९ अर्ब ५० करोड पुगेको छ ।

कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०८१ असार मसान्तमा १८ खर्ब ४८ अर्ब ५५ करोड रहेकोमा २०८२ असार मसान्तमा ३०.६ प्रतिशतले वृद्धि भई २४ खर्ब १४ अर्ब ६४ करोड पुगेको छ ।

बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०८१ असार मसान्तमा एक खर्ब ९२ अर्ब ५५ करोड रहेकोमा २०८२ असार मसान्तमा ३६।६ प्रतिशतले वद्धि भई २६३ अर्ब ४ करोड कायम भएको छ । २०८२ असार मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २३.१ प्रतिशत रहेको छ ।

आर्थिक वर्ष २०८१/८२ को आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १८.२ महिनाको वस्तु आयात र १५.४ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ । २०८२ असार मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरू क्रमशः ४३.८ प्रतिशत, १२८.१ प्रतिशत र ३४.१ प्रतिशत रहेका छन् ।

२०८१ असार मसान्तमा उक्त अनुपातहरू क्रमशः ३५.८ प्रतिशत, १०८.६ प्रतिशत र २९.३ प्रतिशत रहेका थिए । असार मसान्तमा मुलुकको वैदेशिक सम्पत्ति २९ खर्ब २९ अर्ब ६९ करोड तथा दायित्व २१ खर्ब ४६ अर्ब ४३ करोड रहेको छ ।

फलस्वरूप, खुद वैदेशिक सम्पत्ति र दायित्वको स्थिति ७ खर्ब ८३ अर्ब २६ करोडले बचतमा रहेको छ । २०८१ असार मसान्तमा खुद वैदेशिक सम्पत्ति र दायित्वको स्थिति ३०५ अर्ब ८४ करोडले बचतमा रहेको थियो।

प्रकाशित : ८ भदौ २०८२, आइतबार १४:४९ 24 August, 2025 2:49 pm

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।