६ अर्बभन्दा बढी नाफा कमाउँदै चम्कियो नेपाल इन्भेष्टमेन्ट मेगा बैंक « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

६ अर्बभन्दा बढी नाफा कमाउँदै चम्कियो नेपाल इन्भेष्टमेन्ट मेगा बैंक



काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको खुद नाफा ६४.४४ प्रतिशतले वृद्धि भएको छ । बैंकले सार्वजनिक गरेको गत आर्थिक वर्षको वित्तीय विवरण अनुसार खुद नाफामा व्यापक सुधार देखिएको हो ।

अघिल्लो वर्ष बैंकले ४ अर्ब १० करोड ८८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । गत वर्ष यस्तो नाफा ६ अर्ब ७४ करोड ६६ लाख रुपैयाँ पुगेको छ । नाफासँगै बैंकको लाभांश वितरण क्षमता पनि वृद्धि भएको छ । यो अवधिमा बैंकको वितरणयोग्य मुनाफा ४९ करोड ९१ लाख रुपैयाँ रहेको छ । जुन अघिल्लो वर्ष ५ अर्ब ६९ करोड ३२ लाख रुपैयाँले ऋणात्मक थियो । हाल बैंकको प्रति शेयर वितरणयोग्य मुनाफा १.४४ रुपैयाँ रहेको छ । अघिल्लो वर्ष १६.६८ रुपैयाँले ऋणात्मक थियो ।

यो अवधिमा बैंकको ब्याज आम्दानी र सञ्चालन मुनाफा घटेको छ, तर फि तथा कमिसनबाट हुने आम्दानी भने वृद्धि भएको छ । जसले नाफामा प्रभाव पारेको हो । कुल ब्याज आम्दानी १५ अर्ब ११ करोड रुपैयाँबाट १४ अर्ब १२ करोडमा झरेको छ । यसैगरी, कमिसनबाट हुने आम्दानी १ अर्ब ७७ करोडबाट २ अर्ब २० करोडमा उक्लिएको छ भने कुल सञ्चालन आम्दानी १७ अर्ब ७७ करोडबाट १७ अर्ब ६४ करोडमा झरेको छ ।

प्रतिशेयर आम्दानी १२.०४ रुपैयाँबाट १९.८० रुपैयाँमा उक्लिएको छ । प्रतिशेयर नेटवर्थ वृद्धि हुँदा १७६ रुपैयाँबाट १९७ रुपैयाँ पुगेको छ भने खराब कर्जा ४.९१ प्रतिशतबाट ५.८५ प्रतिशतमा उक्लिएको छ ।

प्रकाशित : 15 August, 2025 8:35 am