काठमाडौं । सम्पत्ति व्यवस्थापन कम्पनी स्थापनाको तयारीमा रहेको नेक्सजेन म्यानेजमेन्ट एण्ड इक्विटी सोलुसन्स अब पब्लिक लिमिटेड कम्पनीमा रूपान्तरण भएको छ। कम्पनीले पूँजी वृद्धि गर्दै भविष्यमा सर्वसाधारणलाई सेयर निष्कासन गर्ने उद्देश्यसहित यो रूपान्तरण गरेको हो।
२०८२ वैशाख २२ मा सम्पन्न विशेष साधारण सभाले कम्पनीलाई पब्लिक लिमिटेडमा रूपान्तरण गर्ने र पूँजी वृद्धि गर्ने निर्णय गरेको थियो। सोही अनुसार कम्पनी रजिष्ट्रारको कार्यालयले २०८२ असार २७ मा कम्पनीको अधिकृत पूँजी १ अर्ब र जारी पूँजी ५० करोड रुपैयाँ कायम गर्ने निर्णय दर्ता गरेको हो।
कम्पनीको अध्यक्षतामा पूर्व बैंकर तथा बीमा प्राधिकरणका पूर्व अध्यक्ष देवेन्द्र प्रताप शाह रहेका छन् भने पूर्वबैंकर रमेशकुमार भट्टराई व्यवस्थापन प्रमुखको भूमिकामा छन्। कम्पनी पूर्वबैंकिङ्ग अनुभव भएका व्यक्तिहरूद्वारा सञ्चालित छ । जसले बैंक तथा वित्तीय संस्थाका निष्क्रिय कर्जा तथा गैह्र बैंकिङ्ग सम्पत्ति व्यवस्थापन गर्ने लक्ष्य लिएको छ।
सम्पत्ति व्यवस्थापन कम्पनीसम्बन्धी ऐन आउन बाँकी भए पनि कम्पनीले हाललाई कर्पोरेट एडभाइजरी सेवामार्फत कर्जाको समस्यामा परेका ऋणीहरूलाई मार्गदर्शन दिँदै आएको छ। साथै, पूँजी अभावले रोकिएको उद्योग वा व्यवसायलाई पुनः सक्रिय बनाउन सहयोग पुर्याउने उद्देश्य लिएको छ। कम्पनीले पछिल्ला तीन वर्षदेखि निरन्तर खुद नाफा आर्जन गरिरहेको छ।
नेपालमा बैंक तथा वित्तीय संस्थाहरूमा बढ्दो निष्क्रिय कर्जा समाधानका लागि राष्ट्र बैंक र सरकारले सम्पत्ति व्यवस्थापन कम्पनीको लागि ऐन ल्याउने तयारी गरिरहेका छन्। ऐनको मस्यौदा तयार भइसकेको भए पनि पूँजी संरचनाबारे स्पष्ट निर्णय भने भइसकेको छैन। अन्तर्राष्ट्रिय अभ्यास हेर्दा निष्क्रिय कर्जा व्यवस्थापनका लागि कर्जाको प्रकृति अनुसार साना, मध्यम तथा ठूला पूँजी भएका कम्पनीहरू आवश्यक पर्ने देखिन्छ।
नेक्सजेन म्यानेजमेन्टले यस्तै आवश्यकतालाई मध्यनजर गर्दै प्रारम्भिक पूँजी १ अर्ब पुर्याएको हो। साथै, आगामी दिनमा सर्वसाधारणलाई पनि समावेश गर्ने योजनाअनुसार कम्पनीले ३० प्रतिशत सेयर सर्वसाधारणको लागि छुट्याउने तयारी गरेको छ।





Comment