गणपति लघुवित्तको नाफा १७९ प्रतिशतले उकालो, अन्य सूचक कस्ता छन् ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

गणपति लघुवित्तको नाफा १७९ प्रतिशतले उकालो, अन्य सूचक कस्ता छन् ?



काठमाडौं । गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गर्दै उल्लेखनीय नाफा कमाएको छ। कम्पनीले चार करोड २५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन अघिल्लो वर्षको यसैअवधिको तुलनामा १७९.५१ प्रतिशतले बढी हो।

गत वर्षको सोही अवधिमा कम्पनीले एक करोड ५२ लाख रुपैयाँ नाफा कमाएको थियो। त्यसैगरी, गणपति लघुवित्तको खुद ब्याज आम्दानी पनि उल्लेखनीय रूपमा बढेको छ। चौथो त्रैमाससम्म लघुवित्तले १७ करोड २७ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । जुन अघिल्लो वर्षको १२ करोड १९ लाख रुपैयाँको तुलनामा ४१.७१ प्रतिशतले बढी हो।

कम्पनीको कुल सञ्चालन आम्दानी ४२.२६ प्रतिशतले बढेको छ भने सञ्चालन मुनाफा १६८.२७ प्रतिशतले वृद्धि भएको छ। यी तथ्यांकले लघुवित्तले सञ्चालन दक्षता सुधार गर्दै गइरहेको देखिन्छ। असार मसान्तसम्म गणपति लघुवित्तको वितरणयोग्य मुनाफा दुई करोड ६४ लाख रुपैयाँ पुगेको छ।

१५ करोड १५ लाख रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको जगेडा कोषमा ११ करोड ७३ लाख रुपैयाँ सञ्चित रहेको देखिन्छ । जुन भविष्यका जोखिम व्यवस्थापनका लागि बलियो आधार हो। कम्पनीले समीक्षावधिमा दुई अर्ब २७ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ भने दुई अर्ब २९ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ।

नाफाको वृद्धिसँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि आकर्षक रूपमा वृद्धि भएको छ। अघिल्लो वर्षको अन्त्यसम्ममा १८ रुपैयाँ १ पैसा रहेकोमा यस त्रैमाससम्म आइपुग्दा २८ रुपैयाँ ४ पैसा पुगेको छ। त्यस्तै, प्रतिशेयर नेटवर्थ १७७ रुपैयाँ ४५ पैसा कायम छ भने मूल्य-आम्दानी अनुपात ५६.६६ गुणामा झरेको छ।

प्रकाशित : 5 August, 2025 2:34 pm