एक वर्षमै घाटाबाट नाफामा फर्किएर उपकार लघुवित्तले गर्याे उल्लेखनीय सुधार « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

एक वर्षमै घाटाबाट नाफामा फर्किएर उपकार लघुवित्तले गर्याे उल्लेखनीय सुधार



काठमाडौं। उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडले अघिल्लो वर्षको घाटाबाट उक्लिँदै चालु आर्थिक वर्षको चौथो त्रैमाससम्म तीन करोड ४२ लाख रुपैयाँ खुद नाफा कमाएको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा तीन करोड ५१ लाख रुपैयाँ घाटामा रहेको संस्था यस वर्ष नाफामा फर्किएको हो।

संस्थाको नाफामा देखिएको सुधारको प्रमुख आधार भनेको खुद ब्याज आम्दानीमा भएको १६.८२ प्रतिशतको वृद्धि हो। समीक्षा अवधिमा उपकार लघुवित्तले १५ करोड ५३ लाख रुपैयाँको खुद ब्याज आम्दानी गरेको छ । जुन अघिल्लो वर्षको १३ करोड २९ लाख रुपैयाँभन्दा उच्च हो। साथै, संस्थाको कुल सञ्चालन आम्दानी १७ करोड ९४ लाख रुपैयाँ पुगेको छ भने सञ्चालन मुनाफा चार करोड ६५ लाख रुपैयाँ रहेको छ।

समीक्षा अवधिमा सम्भावित घाटाका लागि एक करोड ८ लाख रुपैयाँको प्रावधान गरिएको संस्थाले जनाएको छ। यद्यपि, रिजर्भ कोषमा उल्लेखनीय वृद्धि भएको छ। संस्थाको सञ्चित नाफा तथा जगेडा कोष ३३।३२ प्रतिशतले बढेर १३ करोड ७ लाख रुपैयाँ पुगेको छ।

निक्षेप संकलन र कर्जा प्रवाहको हिसाबले पनि संस्थाले सकारात्मक गति देखाएको छ। समीक्षा अवधिसम्म उपकार लघुवित्तले एक अर्ब ४० करोड रुपैयाँ निक्षेप संकलन गर्दै दुई अर्ब ४५ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ। यद्यपि, संस्थाको खराब कर्जा अनुपात ९एनपीए० भने उच्च भएको छ। अघिल्लो वर्ष २.१३ प्रतिशत रहेको अनुपात यस वर्ष बढेर ४.८५ प्रतिशत पुगेको छ।

समीक्षा अवधिसम्म संस्थाको प्रतिसेयर आम्दानी ३२.२६ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १९०.९६ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य दुई हजार ८२२.८२ रुपैयाँ, मूल्य आम्दानी अनुपात १०५.०७ गुणा र तरलता अनुपात २४.०५ प्रतिशत कायम भएको छ ।

प्रकाशित : 5 August, 2025 11:56 am