सिडिएससीद्धारा प्रस्ताव गरिएको आईएसआईएन विषय प्रति एनआरएनएको ध्यानकर्षण « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

सिडिएससीद्धारा प्रस्ताव गरिएको आईएसआईएन विषय प्रति एनआरएनएको ध्यानकर्षण



काठमाडाैं । गैरआवासीय नेपाली संघले सिडिएस एण्ड क्लियरिङ लिमिटेडद्वारा हालै नेपाल धितोपत्र बोर्ड समक्ष पेस गरिएको प्रस्ताव प्रति गम्भीर ध्यानाकर्षण भएकाे जनाएकाे छ ।

सीडीएससीले धितोपत्र बजारमा सेयरको सार्वजनिक निष्कासन गरी सूचीकृत हुने प्रक्रियामा रहेका कम्पनीहरूको संस्थापक समूहको सेयर अभौतिकीकरण (भौतिक सेयरलाई विद्युतीय प्रणालीमा परिणत गर्ने) प्रक्रियामा संस्थापक र सर्वसाधारण सेयर गरी दुई वटा (इन्टरनेसनल सेक्युरिटिज आइडेन्टिफिकेसन नम्बर आईएसआईएन) नम्बरको व्यवस्था गर्ने भनेर पेश गरेको भनिएको प्रस्तावले प्रभाव नेपालको पूँजी बजार, लगानी वातावरण र गैरआवासीय नेपालीको लगानी नेपालमा ल्याउने योजनामा नकारात्मक असर पार्न सक्ने संघले जनाएकाे छ ।

यस्तो प्रस्ताव कार्यान्वयन भएमा बिदेशमा बसोबास गर्ने नेपाली संस्थापक लगानीकर्तामा भ्रम र निराशा फैलिने, शेयर कारोबारमा अन्योल बढ्ने, तथा दीर्घकालीन रूपमा पूँजी बजारको स्थायित्व र पारदर्शितामा गम्भीर असर पर्ने स्पष्ट संकेत देखिएको संघकाे भनाइ छ।

गैरआवासीय नेपाली संघको स्थापनाकालदेखि नै विदेशमा रहेका नेपालीको ज्ञान, सीप र पूँजीलाई नेपालमा भित्र्याउने काम भइरहेकोमा त्यसलाई अझ बढी संगठित रुपमा साना तथा मझौला लगानीलाई समेत नेपालमा भित्र्याउने संघको उद्देश्य रहेको अवगत नै छ । सोहीअनुसार ऊर्जा, पूर्वाधार, पर्यटन, स्टार्टअप तथा वित्तीय क्षेत्रमा गैरआवासीय नेपालीहरूद्वारा उल्लेखनीय लगानी हुने क्रम बढिरहेको छ। गैरआवासीय नेपालीहरूबाट नेपालमा हुने लगानी अहिलेको आर्थिक सुधार र पूर्वाधार विकासमा महत्वपूर्ण स्रोत हो । तर विश्वभरिका गैरआवासीय नेपालीहरुलाई नेपालको विकासमा सहभागी हुन तथा आफ्नो ज्ञान, सीप र पूँजी नेपालमा भित्र्याउन सहज वातावरण निर्माण गर्नुपर्नेमा यस प्रस्तावित निर्देशिकाले लगानीमा ठुलो असर पर्ने संघको ठहर छ ।

गैरआवासीय नेपालीहरू नेपालमा लगानी गर्दा स्थायित्व, पारदर्शिता, र कानुनी स्पष्टता अपेक्षा गर्छन् । तर प्रस्तावित व्यवस्था कार्यान्वयन भएमा संस्थापक शेयरधनीहरूले शेयर बेच्नसमेत कठिनाइ भोग्नुपर्ने, वैदेशिक लगानी फिर्ता गर्न नसकिने परिस्थिति बन्ने, र कानुनी अन्योलको वातावरणले अन्तर्राष्ट्रिय लगानीकर्तामा नकारात्मक सन्देश जाने खतरा भएकाे संघले जनाएकाे छ ।

पूँजी बजार प्रतिको विश्वास लगानी सुरक्षाको प्रत्याभूति र प्रवासी तथा विदेशी लगानीकर्ताको विश्वास कायम राख्नु नेपालको दीर्घकालीन समृद्धिको आधार हो। त्यसैले हामी सम्बन्धित नियामक निकायहरू, विशेषतः नेपाल धितोपत्र बोर्ड, अर्थ मन्त्रालय, र सिडिएससीलाई यो प्रस्ताव पुनर्विचार गर्न, गम्भीर छलफलमार्फत समग्र प्रभाव मूल्याड्कन गर्न र सन्तुलित निर्णय लिन संघले आग्रह गरेकाे छ ।

संघले विदेशमा बसोबास गर्ने नेपाली समुदायको तर्फबाट आग्रह गर्दै नेपालमा लगानीमैत्री वातावरणको रक्षा गरि कानुनी तथा प्रणालीगत नीतिहरूले निजी क्षेत्र, प्रवासी नेपाली, र वैदेशिक लगानीकर्तामा आशावादी सन्देश दिन आग्रह गरेकाे छ ।

प्रकाशित : 4 August, 2025 4:42 pm