सवारी चालक अनुमतिपत्रको अवधि अब १० वर्ष: संशोधित ऐन राजपत्रमा प्रकाशित « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अटो

सवारी चालक अनुमतिपत्रको अवधि अब १० वर्ष: संशोधित ऐन राजपत्रमा प्रकाशित



काठमाडौं। अब सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को अवधि १० वर्ष हुने भएको छ। सरकारले सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ संशोधन गर्दै लाइसेन्सको अवधि दोब्बर बनाएको हो।

राजपत्रमा प्रकाशित ‘केही नेपाल ऐनलाई संशोधन गर्न बनेको ऐन’ अनुसार, यसअघि पाँच वर्षको लागि प्रदान गरिँदै आएको सवारी चालक अनुमतिपत्र अब दश वर्षको हुने छ।

संशोधित ऐनको दफा २३ मा भनिएको छ, “उक्त ऐनको दफा ५४ को उपदफा ३ मा रहेका ‘पाँच वर्षसम्म’ भन्ने शब्दहरूको सट्टा ‘दश वर्षसम्म’ भन्ने शब्दहरू राखिएका छन्।” त्यसैगरी, दफा ५६ को उपदफा ३ मा समेत यही परिवर्तन गरिएको छ।

प्रतिनिधिसभाको २०८१ वैशाख १६ गते बसेको बैठकले ‘केही नेपाल ऐन संशोधन विधेयक’ पारित गर्दै यो व्यवस्था अनुमोदन गरेको हो। यो विधेयक अघिल्लो सरकारका कानून, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङको कार्यकालमा ल्याइएको थियो।

विधेयक २०८० वैशाख २६ गते प्रतिनिधि सभामा दर्ता गरिएको थियो। विषयगत समितिमा छलफलपछि पुनः २०८१ वैशाख १४ मा सभामा पेश भएको सो विधेयक अन्ततः पारित भई राजपत्रमा प्रकाशित गरिएको हो।

प्रकाशित : 1 August, 2025 6:20 pm