काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले चालु आर्थिक वर्ष २०८०/८१ को चौथो त्रैमाससम्ममा ५३ करोड ७० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो आवको सोही अवधिमा ५० करोड ४२ लाख रुपैयाँ नाफा कमाएको बैंकले चालु वर्षमा ६.५१ प्रतिशतले बढी नाफा कमाउन सफल भएको हो।
तर, यो अवधिमा बैंकको कुल ब्याज आम्दानीमा भने केही कमी आएको देखिन्छ। अघिल्लो आवमा १ अर्ब ९० करोड रुपैयाँ बराबरको खुद ब्याज आम्दानी गरेको बैंकले चालु वर्षको समीक्षावधिसम्म १ अर्ब ८८ करोड रुपैयाँ आम्दानी गरेको छ। यद्यपि, खुद शुल्क तथा कमिशन आम्दानी भने ९.१५ प्रतिशतले वृद्धि भई २१ करोड ६१ लाख रुपैयाँ पुगेको छ।
बैंकको सञ्चालन मुनाफा ७७ करोड ४२ लाख रुपैयाँ रहेको छ भने कुल सञ्चालन आम्दानी १ अर्ब ९२ करोड रुपैयाँ पुगेको छ। यस अवधिमा बैंकको रिटेन्ड अर्निङ उल्लेखनीय रुपमा वृद्धि भई १३ करोड १८ लाखबाट ४१ करोड ३८ लाख रुपैयाँ पुगेको छ। रिजर्भ कोष पनि १ अर्ब ४२ करोड रुपैयाँबाट बढेर १ अर्ब ६० करोड रुपैयाँमा पुगेको छ।
बैंकले ग्राहकहरुबाट जम्मा ५४ अर्ब ६६ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ भने कर्जा प्रवाह ४३ अर्ब २ करोड रुपैयाँ बराबर गरिएको छ। वितरणयोग्य मुनाफा पनि अघिल्लो आवको १३ करोड १८ लाख रुपैयाँबाट वृद्धि भई ४१ करोड ३८ लाख रुपैयाँ पुगेको छ।
बैंकको वार्षिक प्रतिसेयर वितरणयोग्य आम्दानी (डीपीएस) ११.६४ प्रतिशत रहेको छ। तर, बैंकको खराब कर्जा अनुपात भने ३.९३ प्रतिशतबाट बढेर ५.६४ प्रतिशतमा पुगेको छ, जुन तुलनात्मक रूपमा उच्च हो।
समीक्षा अवधिसम्म बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) १५.१० रुपैयाँ, प्रतिसेयर नेटवर्थ १५६.७१ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्ति मूल्य १ हजार ७८३.२८ रुपैयाँ र मूल्य-आम्दानी अनुपात ३०.६५ गुणा रहेको छ। तरलता अनुपात २६.१५ प्रतिशत कायम भएको छ।





Comment