काठमाडौं । देशको चालु खाता र शोधनान्तर स्थिति आर्थिक वर्ष २०८१/८२ को एघार महिनासम्म उल्लेखनीय रूपमा सकारात्मक बचतमा रहेको देखिएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार चालु खाता, शोधनान्तर स्थिति र प्रत्यक्ष वैदेशिक लगानी सबै सूचकहरूमा अघिल्लो वर्षको तुलनामा सुधार आएको हाे।
समीक्षा अवधिमा चालु खाता ३०७ अर्ब ३१ करोडले बचतमा रहेको छ। अघिल्लो वर्षको यही अवधिमा यो २०० अर्ब ३८ करोड मात्र थियो। अमेरिकी डलरको हिसाबले अघिल्लो वर्ष चालु खाता १ अर्ब ५१ करोड डलरले बचतमा थियो भने यो वर्षको सो अवधिमा २ अर्ब २६ करोड डलरले बचतमा छ।
त्यसैगरी, नेपालमा खुद पुँजीगत ट्रान्सफर पनि बढेको छ। समीक्षा अवधिमा यो ८ अर्ब ९६ करोड पुगेको छ, जुन अघिल्लो वर्षको ५ अर्ब ४६ करोड को तुलनामा उल्लेखनीय वृद्धि हो।
यस्तै, प्रत्यक्ष वैदेशिक लगानी (इक्विटी मात्र) पनि ११ अर्ब ९ करोड पुगेको छ। अघिल्लो वर्ष यो ८ अर्ब २४ करोड मात्र थियो। विदेशी लगानीकर्ताको नेपालको बजारप्रति बढ्दो आकर्षण र राजनीतिक स्थायित्वप्रतिको आशावाद यस वृद्धिको कारण हुनसक्छ।
देशको समग्र वैदेशिक भुक्तानी सन्तुलन झल्काउने शोधनान्तर स्थिति पनि यो वर्ष बलियो अवस्थामा देखिएको छ। समीक्षावधिमा शोधनान्तर स्थिति ४९१ अर्ब ४४ करोड ले बचतमा रहेको छ, जुन अघिल्लो वर्षको ४२५ अर्ब ६७ करोड को तुलनामा १५.४ प्रतिशतको वृद्धि हो।
अमेरिकी डलरमा पनि शोधनान्तर स्थिति ३ अर्ब ६२ करोड डलरले बचतमा रहेको छ। अघिल्लो वर्ष यो ३ अर्ब २० करोड डलर मात्र थियो।





Comment