काठमाडौं । नेपालमा उपभोक्ता मुद्रास्फीति घटेको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक तथा वित्तीय अवस्था प्रतिवेदनअनुसार आर्थिक वर्ष २०८२ को जेठ महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति २.७२ प्रतिशतमा झरेको छ । जुन अघिल्लो वर्षको सोही महिनाको ४.१७ प्रतिशतभन्दा उल्लेखनीय रूपमा कम हो।
समीक्षा अवधिमा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ०.५४ प्रतिशत मात्र रहेको छ भने गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ३.९४ प्रतिशत पुगेको छ। गत वर्षको यही अवधिमा यी समूहहरूको मुद्रास्फीति क्रमशः ५.८५ प्रतिशत र ३.०७ प्रतिशत थियो।
घ्यू तथा तेल उपसमूहमा १०.०६ प्रतिशतको उच्च मुद्रास्फीति देखिएको छ। यस्तै, गैर–मदिराजन्य पेय पदार्थमा ५.१३ प्रतिशत, फलफूलमा ३.५१ प्रतिशत र दाल तथा गेडागुडीमा २.८५ प्रतिशतले मूल्य वृद्धि भएको छ।
तरकारी, मरमसला र मासुजन्य वस्तुहरूमा भने मूल्य घटेको देखिन्छ। तरकारीमा ७.०४ प्रतिशत, मरमसलामा ३.०६ प्रतिशत र माछा तथा मासुमा २.९१ प्रतिशतले उपभोक्ता मूल्य सूचकाङ्क घटेको राष्ट्र बैंकले जनाएको छ।
गैर–खाद्य तथा सेवा समूहअन्तर्गत विविध वस्तु तथा सेवा उप–समूहको उपभोक्ता मूल्य सूचकाङ्क ९.४३ प्रतिशतले वृद्धि भएको छ। कपडा तथा जुत्ता–चप्पलमा ६.८२ प्रतिशत, शिक्षामा ५.८८ प्रतिशत, फर्निसिङ तथा घरायसी उपकरणमा ५.०६ प्रतिशत र सुर्तीजन्य पदार्थमा ४.६८ प्रतिशतले मूल्य वृद्धि भएको छ।
समीक्षा महिनामा ग्रामीण क्षेत्रको वार्षिक विन्दुगत मुद्रास्फीति ९० प्रतिशत पुगेको छ भने सहरी क्षेत्रमा ६६ प्रतिशत रहेको छ। यो तथ्यांकले ग्रामीण उपभोक्ताहरूलाई महँगीको प्रभाव अलिकति बढी परेको संकेत गर्दछ।
प्रदेशअनुसार कोशी प्रदेशमा सबैभन्दा बढी ४.१८ प्रतिशत मुद्रास्फीति देखिएको छ। त्यसपछि सुदूरपश्चिम प्रदेशमा ३.८६ प्रतिशत, कर्णाली प्रदेशमा २.५४ प्रतिशत, मधेशमा २.५२ प्रतिशत, लुम्बिनीमा २.३९ प्रतिशत, बागमतीमा २.२९ प्रतिशत र सबैभन्दा कम गण्डकी प्रदेशमा १.७५ प्रतिशत मुद्रास्फीति देखिएको छ।
हिमाली क्षेत्रमा ४.१८ प्रतिशत मुद्रास्फीति देखिएको छ, जुन सबैभन्दा उच्च हो। त्यसपछिका क्षेत्रहरूमा काठमाडौं उपत्यकामा २.७३ प्रतिशत, तराईमा २.५८ प्रतिशत र पहाडी क्षेत्रमा २.४८ प्रतिशत मुद्रास्फीति रहेको छ।





Comment