बैंकिङ प्रणालीबाट ६३ दिनका लागि ५० अर्ब खिच्दै राष्ट्र बैंक « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

बैंकिङ प्रणालीबाट ६३ दिनका लागि ५० अर्ब खिच्दै राष्ट्र बैंक



काठमाडौं । बैंकिङ प्रणालीमा अधिक तरलता थुप्रिएपछि नेपाल राष्ट्र बैंकले पहिलोपटक बुधबार ६३ दिनका लागि ५० अर्ब रुपैयाँ तान्ने भएको छ। यसअघि केन्द्रीय बैंकले अधिकतममा ४२ दिनसम्मका लागि तरलता प्रशोचन गरेको थियो।

अधिक तरलता व्यवस्थापन गर्न केन्द्रीय बैंकले पछिल्लाे समय निरन्तर निक्षेप संकलन उपकरणमार्फत बैंकिङ प्रणालीबाट पैसा तानिरहेकाे छ। निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्नेछन्।

निक्षेप संकलनको बोलकबोल ब्याजदरमा गर्नुपर्नेछ भने बहुब्याजदरमा पनि बहुबोलकबोल गर्न सकिने राष्ट्र बैंकले जनाएको छ। निक्षेप संकलन उपकरणको बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउनेछन्।

यो निक्षेप संकलन उपकरणको भदौ ११ गते साँवा तथा ब्याज भुक्तानी गरिने राष्ट्र बैंकले जनाएको छ। पछिल्लो समय कर्जाको माग नबढेपछि बैंकिङ प्रणालीमा तरलता फालाफाल रहेको छ। बैंक तथा वित्तीय संस्थाहरु ३ प्रतिशतको हाराहारीको ब्याजदरमै केन्द्रीय बैंकलाई पैसा दिन बाध्य भइरहेका छन्।

प्रकाशित : 25 June, 2025 11:49 am