काठमाडौं — अर्थमन्त्री विष्णु प्रसाद पौडेलले पुँजी बजारलाई पारदर्शी, प्रतिस्पर्धी र विश्वसनीय बनाउँदै लगानीकर्ताको विश्वास जित्नुपर्ने आवश्यकता औँल्याएका छन्।
नेपाल धितोपत्र बोर्डको ३१औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले आगामी आर्थिक वर्षको बजेटमा पुँजी बजार क्षेत्रको सुधारलाई विशेष प्राथमिकता दिइएको जानकारी गराए।
“पुँजी बजार अर्थतन्त्रको ऐना हो, यसलाई हेर्दा देशको उज्ज्वल भविष्य देख्न सकियोस् भन्ने गरी व्यवस्थापनमा काम गरिनुपर्छ,” अर्थमन्त्रीले भने।
उनले धितोपत्र बोर्डको भूमिकालाई गुणात्मक रूपमा सुधार गर्दै नयाँ उचाइमा पुर्याउनुपर्नेमा जोड दिए। नियमनका दुई पाटो हुने उल्लेख गर्दै उनले गल्ती गर्नेलाई रोक्ने र दण्डित गर्ने, राम्ररी काम गर्नेलाई प्रोत्साहन दिने प्रणालीलाई सशक्त बनाउनुपर्ने बताए।
पुँजी बजारमा देखिएको अपारदर्शिता, इन्साइडर ट्रेडिङ र अन्य अनियमितताप्रति सरकार शून्य सहनशीलताको नीति लिने स्पष्ट पार्दै पौडेलले धितोपत्र बोर्डलाई कुनै दबाब वा प्रभावमा नपरी स्वतन्त्र र निष्पक्ष रूपमा काम गर्न निर्देशन दिए।
उनका अनुसार लगानीकर्तालाई सचेत बनाउने, कहाँ लगानी गर्ने वा नगर्ने भन्ने निर्णयमा मार्गदर्शन गर्ने जिम्मेवारी बोर्डले लिनुपर्छ।
साथै, विश्वभर प्रचलित नयाँ पुँजी बजार उपकरणहरूको अध्ययन गरी नेपाली सन्दर्भमा उपयुक्त रुपमा प्रयोगमा ल्याउनुपर्ने सुझाव पनि उनले दिए।
उनले अन्त्यमा धितोपत्र बोर्डलाई सुधारको यात्रामा दृढ, आत्मनिर्भर र प्रभावकारी भूमिका निर्वाह गर्न आग्रह गरे।





Comment