बजेट कार्यान्वयनमा मौद्रिक नीतिसँग तालमेल आवश्यक : अध्यक्ष ढकाल « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

बजेट कार्यान्वयनमा मौद्रिक नीतिसँग तालमेल आवश्यक : अध्यक्ष ढकाल



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले आर्थिक वृद्धिको लक्ष्य हासिल गर्न बजेट र मौद्रिक नीतिबीच सशक्त तालमेल आवश्यक रहेको बताएका छन्।

शनिबार नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले काठमाडौंमा आयोजना गरेको पोस्ट बजेट छलफल कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले आगामी आर्थिक वर्षको बजेट निजी क्षेत्रमुखी बनेको बताउँदै कार्यान्वयनतर्फ गम्भीर ध्यान दिनुपर्नेमा जोड दिए।

“बजेट तुलनात्मक रूपमा राम्रो आएको छ। निजी क्षेत्रलाई अर्थतन्त्रको प्रमुख ड्राइभिङ फोर्सका रूपमा लिइएको छ। यसलाई हामीले सकारात्मक रुपमा लिएका छौं,” ढकालले भने, “तर निजी क्षेत्रले प्राथमिकताका साथ उठाएका केही विषय छुटेका छन्। ती विषयहरूप्रति सरकारको ध्यानाकर्षण गराउन चाहन्छौं।”

अध्यक्ष ढकालका अनुसार खनिज र नदिजन्य पदार्थको उत्खनन, पर्यटन क्षेत्रलाई प्राथमिकता, कृषि, सूचना प्रविधि, वैकल्पिक उर्जा, विशेष आर्थिक क्षेत्र र औद्योगिक निर्यात प्रवर्द्धनका लागि बजेटमा समावेश प्रोत्साहन योजनाहरू सकारात्मक छन्। तर, उनले कर प्रणाली विशेषगरी टिडिएस (TDS) जस्ता व्यवस्थाले पर्यटकको लागत बढ्ने भन्दै सहजीकरणको माग गरे।

बजेटले ३० प्रतिशतसम्म निर्यात गर्ने उद्योगलाई दिइने सुविधा, वैदेशिक लगानी सहजीकरणका लागि लगानी बोर्डलाई अधिकारसम्पन्न बनाउनु, तथा लगानीमैत्री वातावरण निर्माणको प्रयास सराहनीय भएको भन्दै ढकालले प्रभावकारी कार्यान्वयनमा जोड दिए।

“६ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य यथार्थपरक देखिन्छ, तर नीति तथा कार्यक्रम कार्यान्वयनमा सुशासनको प्रत्याभूति अपरिहार्य छ,” अध्यक्ष ढकालले स्पष्ट पारे। साथै, विदेशी लगानी प्रवाह सहज बनाउन एकीकृत कानुन, एकद्वार प्रणाली र प्रभावकारी संयन्त्रको निर्माण आवश्यक रहेको पनि उनले औंल्याए।

प्रकाशित : 31 May, 2025 3:11 pm