काठमाडौं । सरकारले पूँजी बजार सुधार र लगानीमैत्री वातावरण निर्माणका लागि नेपाल स्टक एक्सचेन्ज (नेप्से) को पुनःसंरचना गर्ने घोषणा गरेको छ। अर्थमन्त्री विष्णुप्रसाद पौडेलले संघीय संसदमा आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्दै नेप्सेको पुनःसंरचना गरिने जानकारी दिए।
साथै, नेपाल धितोपत्र बोर्डको सुदृढीकरण गरिने र बैंक तथा वित्तीय संस्थाहरूको बढ्दो गैर(बैंकिङ सम्पत्ति व्यवस्थापनका लागि एसेट म्यानेजमेन्ट कम्पनी स्थापना गरिने बजेटमा उल्लेख छ।
पौडेलले कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोषजस्ता संस्थाहरूलाई प्राइभेट इक्युटी तथा भेन्चर क्यापिटलमा लगानी गर्न दिने व्यवस्था मिलाइने बताए।
बजेटमा गैर-आवासीय नेपालीहरूलाई दोस्रो बजारमा कारोबार गर्न दिने विषय पनि दोहोर्याएर समावेश गरिएको छ। यद्यपि, विगतका बजेटहरूमा समेत घोषणा भए तापनि कार्यान्वयन अझै भएको छैन।
यसबाहेक सरकार नेपाल टेलिकमको ३० प्रतिशत सेयर बिक्री गरी कम्पनीमा रणनीतिक साझेदार भित्र्याउने योजना पनि बजेटमार्फत अघि सारेको छ।
सरकारका अनुसार, यी कदमहरूबाट पूँजी बजार सुदृढ भई आर्थिक वृद्धिमा योगदान पुग्ने अपेक्षा गरिएको छ।





Comment