काठमाडौं । नेपाल मोंटेसरी ट्रेनिङ सेन्टरले २५औं वार्षिकोत्सव तथा वार्षिक सम्मेलन भव्य रूपमा प्रिमियर इन्टरनेशनल कन्टिन्युम स्कूलमा सम्पन्न गरेको छ। बाल शिक्षाका क्षेत्रका प्रतिष्ठित शिक्षक, नीति निर्माताहरू, र सरोकारवालाहरू एकत्रित भई, एनएमटीसीको योगदानबारे समीक्षा गर्दै नेपालमा मोंटेसरी शिक्षाको भावी मार्गचित्रबारे छलफल गरे।
औपचारिक समारोहका क्रममा एनएमटीसीकी निर्देशक पवित्रा लिम्बूले मुख्य सम्बोधन गरिन् । जसमा संस्थाको २५ वर्षको यात्रा तथा बाल शिक्षामा एनएमटीसीले पुर्याएको प्रभावबारे प्रकाश पारिन् । उनले मोंटेसरी शिक्षकहरूको अथक समर्पण र एनएमटीसीलाई नेपालको प्रमुख प्रशिक्षण संस्थाका रूपमा स्थापित गर्न सम्पूर्ण समुदायको भूमिका उल्लेख गरिन् ।
मोंटेसरी शिक्षाको आधारभूत दर्शनलाई उजागर गर्दै, उनले स्वतन्त्र, जिज्ञासु र आत्मविश्वासी बालबालिका तयार पार्ने एनएमटीसीको उद्देश्यलाई पुनः पुष्टि गरिन् । साथै, भविष्यमा प्रशिक्षण कार्यक्रम विस्तार गर्ने, आधुनिक शिक्षण प्रविधि समावेश गर्ने, तथा साझेदारीहरू सुदृढ गर्दै नेपालभर बाल शिक्षाको गुणस्तर सुधार गर्ने एनएमटीसीका लक्ष्यहरू प्रस्तुत गरिन् ।
कार्यक्रममा प्रधान अतिथि माननीय देव राज घिमिरेको उपस्थितिले विशेष गरिमा थपेको थियो । उनले एनएमटीसीको नेपालमा मोंटेसरी प्रशिक्षणको अगुवा भूमिका को प्रशंसा गर्दै गुणस्तरीय प्रारम्भिक बाल शिक्षाले राष्ट्रको भविष्य निर्माण गर्न महत्वपूर्ण भूमिका खेल्ने कुरामा जोड दिए ।
सेतो गुराँसकी संस्थापक अगाथा पाख्रिन थापाले पनि मोंटेसरी शिक्षाका आफ्ना अनुभवहरू प्रस्तुत गर्दै सहभागीहरूलाई प्रेरित गरिन् ।
कार्यक्रमको आरम्भमा प्रिमियर इन्टरनेशनल कन्टिन्युम स्कूलका विद्यालय काउन्सलर तथा मनोवैज्ञानिक कर्णव प्रभाकर द्वारा न्यूरोडेभलपमेन्टल डिसअर्डर र प्रारम्भिक बाल विकास विषयमा महत्वपूर्ण सेमिनार प्रस्तुत गरिएको थियो।
त्यस्तै, स्पिच एन्ड हियरिङ एसोसिएसन अफ नेपालकी उपाध्यक्ष तथा भाषिक सुनाइ विशेषज्ञ नीलम लामा दाहालले भाषा तथा श्रवण विकास महत्वपूर्ण चरणहरू र प्रारम्भिक जोखिम पहिचान विषयमा अर्को महत्वपूर्ण सत्र प्रस्तुत गरिन् ।
उनले बाल्यकालको भाषिक विकासका महत्वपूर्ण चरणहरू तथा भाषा वा सुनाइसम्बन्धी समस्या देखाउने संकेतहरू बारे छलफल गर्नुभयो। साथै, स्पिच थेरापी विधिहरू, अभिभावकहरूको भूमिका, र शिक्षण पद्धतिहरूमा प्रारम्भिक हस्तक्षेपको प्रभावकारिता सम्बन्धी महत्वपूर्ण जानकारी प्रस्तुत गरिन् ।
Comment