बैशाख १२ काठमाडौँ। नेपाल धितोपत्र बोर्डले मर्चेन्ट बैंकर र शेयर ब्रोकरको कार्य क्षेत्र बिस्तार गर्ने भएको छ। उनीहरुको कामको प्रकृति अनुसार थप गर्न सक्ने क्षेत्र पहिचान गरेर फराकिलो बनाउन खोजेको बोर्डका निर्देशक डा। नवराज अधिकारीले बताए।
मर्चेन्ट बैंकलाई प्राइभेट इक्विटी, लगानी परामर्श दाता, भेन्चर क्यापिटल लगायतका जिम्मेवारी थप्न लागेको उनले जानकारी दिए। बोर्डले मर्चेन्ट बैंकर नियमावली २०६७ को संशोधनमा यी व्यवस्था गर्ने तयारी गरेको छ। ‘बोर्डले नियमावली संशोधनको तयारी सुरु गरि सकेको छ, उनले भने( छिटै यो व्यवस्था कार्यान्वयनमा आउनेछ। संशोधित नियमावलीमा मर्चेन्ट बैंकरको चुक्ता पूँजी २० करोड रुपैयाँ पुर्याउने तयारी गरिएको छ। नियमावलीले तोके बमोजिम पूँजी बृद्धि गर्ने कम्पनीलाई मात्र थप सेवा प्रवाहको अधिकार दिने अधिकारीले जानकारी दिए।
नयाँ व्यवस्थामा मर्चेन्ट बैंकरले संगठित संस्थाको सम्तत्ति मूल्याङ्कन, व्यवस्थापन एवं व्यवसायीक योजना तर्जुमा, संगठित संस्थाको चुक्ता पूँजी पुनर्निर्माण लगायतका ‘कन्सलटेन्सि’ सेवा समेत दिन पाउनेछन्। मर्चेन्ट बैंकर एवं निजीका वित्तिय सेवा प्रदायक बिभिन्न कम्पनीको माग बमोजिम भेञ्चर क्यापिटलको काम समेत मर्चेन्ट बैंकरले गर्न सक्ने अधिकारीले जानकारी दिए।
मर्चेन्ट बैंकर एशोसिएसनले पनि आफुहरुको कार्य क्षेत्र विस्तार गरिदिन बोर्डलाई अनुरोध गर्दै आएको थियो। मर्चेन्ट बैंकरले गर्नसक्ने काम बारे समयानुकुल विस्तार हुनुपर्ने माग एशोसिएसनले बोर्ड समक्ष राखेको सिद्धार्थ क्यापिटलका प्रमुख कार्यकारी अधिकृत ध्रुब तिमिल्सिनाले बताए।
‘हामीले मर्चेन्ट बैंकलाई जति फराकिलो स्पेस र काम गर्ने नयाँ नयाँ औजार दिन्छौँ, उनले भने( मूलुकमा पूँजी निर्माण पनि उति नै चाँडो हुन्छ। यो समग्र देश विकासका लागि नै महत्वपुर्ण सावित हुनेछ।’ ब्रोकर कम्पनीका लागि भने मार्जिन लेन्डिङ लगायतका सेवा थप गर्न लागेको बोर्डका निर्देशक अधिकारीले जानकारी दिए। ‘उनीहरुलाई लगानी परामर्श एवं मार्जिन फाइनान्सिङको काम गर्न दिने बारे छलफल अघि बढेको छ, उनले भने।
ब्रोकरलाई मार्जिन लेन्डिङको काम दिए लगानीकर्ताले निश्चित प्रतिशत रकम आफुले हालेर बाँकी ऋण लिएर लगानी गर्न सक्नेछन्। यसले बैंकमा पहुँच नहुने लगानीकर्तालाई फाइदा पुग्नेछ। बोर्डले ब्रोकरलाई अक्सन मार्केट सञ्चालनको सुविधा समेत दिने तयारी गरेको छ।
Comment