काठमाडौं । वैदेशिक रोजगार बीमाबाट जीवन बीमा कम्पनीहरूले चालु आर्थिक वर्षको ७ महिना अर्थात, माघसम्ममा करिब २ अर्ब रुपैयाँ भित्र्याएका छन्। नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांक अनुसार यस अवधिसम्म ११ वटा जीवन बीमा र ३ वटा लघु जीवन बीमा कम्पनीले २४ लाख ४ हजार ६६६ वटा वैदेशिक रोजगार बीमालेख जारी गरेर १ अर्ब ९७ करोड ६१ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका हुन् ।
यस अवधिसम्म कुल वैदेशिक रोजगार बीमा व्यवसायमा सबैभन्दा बढी हिस्सा सन नेपाल लाइफको रहेको छ । यस कम्पनीले वैदेशिक रोजगार बीमालेख जारी गरेर चालु आर्थिक वर्षको माघसम्म ७९ करोड २१ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। जुन कुल व्यापारको ४०.०९ प्रतिशत हिस्सा यसले लिएको छ ।
दोस्रो धेरै वैदेशिक रोजगार बीमा व्यवसाय गर्नेमा एसियन लाइफ रहेको छ। यो बीमालेख बिक्री गरेर कम्पनीले ४४ करोड ९९ लाख रुपैयाँ कुल बीमशुल्क आर्जन गरेको छ। यो बीमा व्यवसायको कुल व्यापार हिस्सा २२.७७ प्रतिशत रहेको छ।
त्यस्तै तेस्रोमा नेपाल लाइफ रहेको छ। यो बीमा व्यवसायमा नेपाल लाइफको हिस्सा ८.१७ प्रतिशत रहेको छ। कम्पनीले ७ महिनामा १६ करोड १३ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ।
साथै, चालु आर्थिक वर्षको माघसम्म वैदेशिक रोजगार बीमालेख बिक्री गरेर नेसनल लाइफले १३ करोड १४ लाख रुपैयाँ, आइएमई लाइफले १२ करोड ९९ लाख रुपैयाँ, सानिमा रिलायन्स लाइफले ९ करोड ९९ लाख रुपैयाँ, सूर्यज्योति लाइफले ७ करोड २४ लाख रुपैयाँ, रिलायबल नेपाल लाइफले ७ करोड १६ लाख रुपैयाँ, सिटिजन लाइफले ५ करोड ७७ लाख रुपैयाँ, हिमालयन लाइफले ३२ लाख ४२ हजार रुपैयाँ र प्रभु महालक्ष्मी लाइफले २३ लाख १७ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन्।
लघु जीवन बीमातर्फ गार्डियन माइक्रो लाइफले वैदेशिक रोजगार बीमालेख बिक्री गरेर २१ लाख ५९ हजार रुपैयाँ, लिबर्टी माइक्रो लाइफले १८ लाख २६ हजार रुपैयाँ र क्रेष्ट माइक्रो लाइफले ३ लाख ८७ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ।





Comment