काठमाडौं। लामो समयदेखि अधिक तरलताको समस्या झेलिरहेका बैंकहरुले पछिल्लो समय कर्जा प्रवाह बढाउन थालेका छन् । वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघले सार्वजनिक गरेको चालु आर्थिक वर्षको माघसम्मको तथ्यांकअनुसार बैंकहरुले पछिल्लो ७ महिना निक्षेप संकलन भन्दा साढे १४ अर्ब बढी कर्जा प्रवाह गरेका छन् ।
तथ्यांकअनुसार २० वटा वाणिज्य बैंकहले कुल ५९ खर्ब ९७ अर्ब ५ करोड रुपैयाँ निक्षेप संकलन गरेर ४८ खर्ब २७ अर्ब ८५ करोड कर्जा प्रवाह गरेका छन् । गत असार मसान्तसम्म वाणिज्य बैंकहरुले बैंकहरुले ५७ खर्ब ५४ अर्ब ७७ करोड रुपैयाँ निक्षेप संकलन गरेर ४५ खर्ब ७० अर्ब ९१ करोड कर्जा प्रवाह गरेका थिए ।
पछिल्लो ७ महिनामा बैंकहरुको निक्षेप २ खर्ब ४२ अर्ब २८ करोड रुपैयाँ थपिएको छ भने यस अवधिमा बैंकहरुले २ खर्ब ५६ अर्ब ९४ करोड रुपैयाँ कर्जा प्रवाह गरेका छन् । यसअवधिमा बैंकहरुले निक्षेप संकलन भन्दा १४ अर्ब ६६ करोड रुपैयाँ बढी कर्जा प्रवाह गरेका छन् । यसले पछिल्लो समयमा वित्तीय बैंकहरुले कर्जा विस्तारलाई जोड दिएको देखाँउछ ।
नेपाल बैंकर्स संघ अनुसार चालु आवको ७ महिनाको अवधिमा ३ वाणिज्य बैंकको निक्षेप घटेको छ भने १७ बैंकको बढेको छ । यसअवधिमा एनआईसी एशिया बैंकको निक्षेप ५८ करोड २२ लाख रुपैयाँले घटेको छ । यस्तै प्रभु बैंकको निक्षेप ३ करोड तथा सिद्धार्थ बैंकको १ करोड ६० लाख रुपैयाँले घटेको छ ।
यस्तै यसअवधिमा ३ वाणिज्य बैंकको कर्जा घटेको छ भने १७ बैंकको बढेको छ । यसअवधिमा एनआईसी एशिया बैंकको कर्जा ३२ करोड ८८ लाख रुपैयाँले घटेको छ । यस्तै सिद्धार्थ बैंकको निक्षेप ३ करोड ७९ लाख तथा प्रभु बैंकको १ करोड ५८ लाख रुपैयाँले घटेको छ ।
सबैभन्दा बढी निक्षेप संकलन बैंकमा भने ग्लोबल आइएमई रहेको छ । यो बैंकले माघसम्म ५ खर्ब २९ अर्ब रुपैयाँ संकलन गरेको छ । कर्जा प्रवाह पनि ४ खर्ब ३१ अर्ब रुपैयाँ रहेको छ । कर्जा प्रवाह पनि वाणिज्य बैंकहरुमा ग्लोलब आइएमईकै सर्वाधिक रहेको छ । दोस्रो धेरै निक्षेप संकलन गर्ने नबिलले ४ खर्ब ९९ अर्ब रुपैयाँ निक्षेप संकलन गरी ४ खर्ब ११ अर्ब कर्जा प्रवाह गरेको छ ।
त्यस्तै नेपाल इन्भेष्टमेन्ट बैंकले ४ खर्ब ४७ अर्ब रुपैयाँ निक्षेप संकलन गरी ३ खर्ब ५१ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ । बैंकहरुले निक्षेपको ९० प्रतिशतसम्म कर्जा प्रवाह गर्न पाउँछन्। । माघसम्मको तथ्यांक हेर्दा बैंकहरुले औसतमा ७९.३५ प्रतिशतमात्रै कर्जा प्रवाह गरेको देखिन्छ ।





Comment