गार्डियन माइक्रो लाइफको आइपीओ बाँडफाँड, यसरी हेर्न सकिन्छ नतिजा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

गार्डियन माइक्रो लाइफको आइपीओ बाँडफाँड, यसरी हेर्न सकिन्छ नतिजा



काठमाडौं । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको आइपीओ आइतबार बाँडफाँड भएको छ। आइपीओ बिक्री प्रबन्धक कुमारी क्यापिटलको कार्यालयमा बिहान ९ बजे बाँडफाँड भएको हो।

कम्पनीले गत पुस २१ गतेदेखि पुस २४ गतेसम्म सर्वसाधारणका लागि आइपीओ बिक्री खुला गरेको थियो। कम्पनीले धितोपत्र बोर्डबाट चुक्तापुँजी ७५ करोड रुपैयाँको ३० प्रतिशतले हुन आउने २२ करोड ५० लाख रुपैयाँको आइपीओ बिक्री गर्ने अनुमति पाएको थियो।

कम्पनीले दोस्रो चरणमा ३ प्रतिशतले हुन आउने ६७ हजार ५०० कित्ता आफ्ना कर्मचारीलाई, ५ प्रतिशतले हुन आउने १ लाख १२ हजार ५०० कित्ता सामूहिक लगानी कोषलाई र बाँकी १८ लाख ४५ हजार कित्ता सर्वसाधारणलाई बिक्री खुला गरेको थियो।

गार्डियन माइक्रो लाइफको आइपीओमा १८ लाख ३० हजार ८५७ आवेदकबाट २ करोड ३२ लाख २ हजार ५४० कित्ता सेयरका लागि आवेदन परेको थियो। जुन मागभन्दा १२.५८ गुणाले बढी हो।

कुल आवेदनमध्ये १८ लाख २२ हजार ४०५ आवेदन स्वीकृत भएको छ भने ८ हजार ४५२ आवेदन रद्द भएको क्यापिटलले जनाएको छ।

मागभन्दा बढी आवेदन परेकाले आइपीओ गोलाप्रथाबाट बाँडफाँड गरिएको छ। जसमा भाग्यमानी १ लाख ८४ हजार ५०० आवेदकले १० कित्ताका दरले सेयर पाएका छन्।

लगानीकर्ताले बिक्री प्रबन्धकको वेबसाइट र मेरो सेयर एकाउन्ट बाट आईपीओको नतिजा हेर्न सक्नेछन् । सीडीएस एन्ड क्लियरिङले रिजल्ट हेर्न बनाएको वेबसाइटबाट पनि रिजल्ट हेर्न सकिने जनाइएको छ ।

प्रकाशित : ६ माघ २०८१, आईतवार १०:१०