हंस सहकारीले विद्यार्थीलाई बाँड्यो न्यानो कपडा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

हंस सहकारीले विद्यार्थीलाई बाँड्यो न्यानो कपडा



भरतपुर । हंस बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले भरतपुर ११ गणेश स्थानमा रहेको श्री सिद्धि जनकल्याण आधारभूत विद्यालयमा अध्ययनरत आर्थिक अवस्था कमजोर रहेका विद्यार्थीहरूलाई लक्षित गरी न्यानो कपडा वितरण गरेको छ ।

उक्त कार्यक्रममा बोल्दै संस्थाका अध्यक्ष दिनेशकुमार चुकेले सहकारीको एक सिद्धान्त समुदाय प्रतिको चासोलाई प्राथमिकतामा राख्दै संस्थाले विगतदेखि सामाजिक सेवाका क्षेत्रमा योगदान गर्दै आएको कुरा उल्लेख गरे । सामाजिक उत्तरदायित्वलाई अझ प्रभावकारी बनाउने प्रतिबद्धता प्रकट गर्दै यस्तो कार्यक्रमले संस्थालाई समुदायसँग अझ नजिक बनाउने विश्वास पनि व्यक्त गरे ।

संस्थाका उपाध्यक्ष बाबुराम अधिकारीले स्वागत मन्तव्य राख्दै संस्थाको परिचय सहित कार्यक्रमको औचित्यलाई जोड दिए । उनेल सहकारीको मुख्य उद्देश्य आर्थिक मात्र नभई सामाजिक क्षेत्रमा पनि योगदान पुर्‍याउनु हो भने यस्ता कार्यक्रमले संस्थाको समाजप्रतिको दायित्वलाई प्रतिबिम्बित गर्ने बताए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शालिकराम सापकोटाले विद्यार्थीहरूको आवश्यकता पूरा गर्दै सामाजिक सेवामा महत्वपूर्ण योगदान दिएकोमा संस्थालाई धन्यवाद दिदै उनले यस्तो सहयोगबाट विद्यालयका विद्यार्थीहरूलाई पठनपाठनमा प्रोत्साहन मिल्ने बताए। सो अवसरमा संस्थाकी सचिव शारदा शर्मा पौडेलले सहकारीले शिक्षा, स्वास्थ्य, र सामाजिक सेवामा गरेको निरन्तर प्रयासबारे चर्चा गरिन् । उनले संस्थाले अन्य क्षेत्रमा पनि सामाजिक सेवामा महत्वपूर्ण भूमिका खेलेको कुरा जोड गरिन् ।

कार्यक्रममा संस्थाका प्रबन्धक नारायणप्रसाद सापकोटाले सहकारीले चितवन जिल्लामा आर्थिक गतिविधिसँगै सामाजिक सेवामा पनि उल्लेखनीय कार्य गर्दै आएको बताए। संस्थाको उद्देश्य मात्र लाभ वितरण नभई समुदायमा दीर्घकालीन प्रभाव पार्ने कार्यक्रम ल्याउनु रहेको कुरामा जोड दिँदै उनले ६० जना विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको र यसले विद्यार्थीहरूको दैनिक जीवनमा सकारात्मक प्रभाव पार्ने कुरा उल्लेख गरे ।

उक्त कार्यक्रममा संस्थाका लेखा समितिका सदस्य कृष्णहरि तिमिल्सेना, सञ्चालक अनिता मैनाली, सूर्य बराल, होमनाथ सापकोटा, लेखा प्रमुख नविना अधिकारी, र विद्यालयकी प्रधानाध्यापक कमला पौडेल लगायतको उपस्थिति रहेको थियो । विद्यालय परिसरमा सम्पन्न उक्त कार्यक्रमले विद्यार्थीहरूलाई चिसो मौसममा सहयोग पुर्याउने विश्वास गरिएको छ ।

प्रकाशित : २२ पुष २०८१, सोमबार १५:४१