पाँच तारा सहकारीले मासिक बचत गर्ने सदस्यलाई पेन्सन दिने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

पाँच तारा सहकारीले मासिक बचत गर्ने सदस्यलाई पेन्सन दिने




पाँच तारा बचत तथा ऋण सहकारी संस्थाले सदस्यहरुलाई पेन्सन दिने भएको छ । संस्थाको हिजो सम्पन्न १७ औं साधारण सभाले १५ बर्षसम्म नियमित रुपमा मासिक बचत गर्ने सदस्यहरुलाई पेन्सन दिने प्रस्ताव पारित गरेको हो । ५ सय, १ हजार र दुई हजार मासिक बचत गर्ने सदस्यहरुलाई १५ बर्षपछि पेन्सन दिने प्रस्ताव सभाले गरेको हो । संस्था स्थापना भएदेखि हालसम्म नियमित रुपमा मासिक बचत गर्ने ६६ जनालाई पेन्सन दिने सभामा जानकारी दिइयो ।

त्यसैगरी ७० बर्ष माथी शेयर सदस्यहरुलाई पनि संस्थाले जनही २ हजारको दरले दशै भत्ता उपलब्ध गराएको छ । सभामा संस्थाका अध्यक्ष भोला नाथ पाठकले कोभिड १९ पछि सहकारी विभागले जारी गरको साधरण सभा सम्बन्धी निर्देशिका अनुसार संस्थाले प्रमुख अथिति र खादा माला विना नै साधारण सभा गर्दै आएको बताए । उनले कम खर्चिलो र नियमाक निकायको निर्देशनलार्ई पालना गर्दै सभा गर्ने गरेको जानकारी दिए ।


सभामा अध्यक्षको प्रतिवेदन प्रस्तुत गर्दै पाठकले पछिल्लो समय आर्थिक विकासको महत्वपूर्ण खम्बाको रुपमा संविधानले परिकल्पना गरेको सहकारी क्षेत्रले भोग्नु परेको लाञ्छनाका साथै आन्तरिक तथा वाह्य अफवाहकाबीचमा पनि संस्थाले सदस्यहरुलाई निर्धक भएर सेवा प्रदान गर्दै आएको बताए । कोभिड १९ र विश्व आर्थिक मन्दीसँगै देशको आन्तरिक राजनीतिका कारण मुलुकको अर्थ व्यवस्थामा आशा लाग्दो सुधार हुन नसक्दा त्यसको प्रभाव सहकारी क्षेत्रमा समेत परेको उनले बताए । समाजवादी अर्थतन्त्रको जग मानिएको र बैंक तथा वित्तीय संस्थाको पहुँचबाट टाढा रहेका मानिसहरुलाईे एकिकृत गरी सेवा दिने काम सहकारीले गरेको अध्यक्ष पाठकको भनाई छ ।

सहकारीको सहयोगका कारण विगतमा आफ्ना समस्या टार्नेहरुबाटै अहिले सहकारीको पैसा नतिर्ने र बदनाम गर्ने काम भइरहेको अध्यक्ष पाठकको भनाई छ । संस्थाले विषम परिस्थितिमा पनि प्रविधि प्रयोग गरी सदस्यहरुलाई वित्तीय सेवाका साथै सामाजिक योगदान समेत गर्दै आएको अध्यक्ष पाठकले बताए । सहकारी क्षेत्र सानो पुँजीबाट आफै मालिक भई बचत गर्दै संस्थाको सहयोगमा उद्यमी बन्ने र सामाजिक विकासको नेतृत्व गर्न सक्ने सबै भन्दा उपयुक्त क्षेत्र भएको उनको भनाई छ ।


बचतको आधारमा नै संस्थाले आगामी लगानीको योजना बनाउने र सो लगानीको आधारमा प्रतिफल निर्धारण गर्ने हुँदा संस्थाले अधिकतम ब्याज सहितका बचत खाता सञ्चालन गरेकाले सदस्यहरुलाई ती खातामा बचत गर्न पाठकको आग्रह छ । सदस्यहरुलाई उद्यमशील बनाउन संस्थाले विगत ३ बर्षदेखि उद्यम बचत खातामा सञ्चालनमा ल्याएको र हालसम्म करिब ५ सय सदस्य उक्त खातामा जोडिएका छन् । संस्थाले सबै उमेर समुहका सदस्यहरुलाई लक्षित गरी बचत खाता सञ्चालनमा ल्याएको र सदस्यहरुको परिवारमा जन्मेका नवजात शिसुलाई एक हजार हातमा खुत्रुकेको साथमा सञ्चालनमा ल्याएको छ ।

बर्तमान समयमा सहकारी गरिबको लागि मात्र हो भन्ने अवधारणामा परिर्वतन आएको भन्दै पाठकले उद्यमशीलताको विकासको लागि सहकारी भन्ने अवस्था सृजना भएको बताए । सहकारी मार्फत देशको सामाजिक तथा आर्थिक विकासको योगदानलाई नतिजामुखी बनाउन सबै पक्षको प्रयासबाट सम्भव भएको उनले बताए । ऋणको सही सदुपयोगबाट मात्र सदस्यहरुको आर्थिक समृद्धि सम्भव भएकाले ऋणलाई सही सदुपयोग गरी आर्थिक उन्नति गर्न उनको आग्रह छ । संस्थाले यस आर्थिक बर्षको लागि ऋणमा १५.५ प्रतिशत ब्याज कायम गरेको र नियमित रुपमा ऋणको सावाँ ब्याज तिर्ने सदस्यलाई आर्थिक बर्षको अन्तमा १ प्रतिशत ब्याज छुट दिने व्यवस्था मिलाइएको सभामा जानकारी दिइयो । सहकारी ऐन २०७४ ले एक व्यक्ति एक संस्थाको व्यवस्था गरेकाले धेरै वटा संस्थामा सदस्य नबन उनको आग्रह छ ।

संस्थाले बचतमा राम्रो फतिफल दिने र आवश्यक पर्दा ऋण लगानी गर्ने भएकाले धेरै संस्थामा सदस्य बन्न आवश्यक नरहेको उनले जनाए । सभामा सञ्चालक समितिका सदस्य अवधेश कुमार पाण्डेले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

आर्थिक बर्ष २०८०÷८१ को असार मसान्तसम्म संस्थाको शेयर पुँजी ८ करोड १४ लाख,बचत संकलन ५३ करोड ५३ लाख,ऋण लगानी ६१ करोड ७० लाख गरी २ करोड ९० लाख १५ हजार एन.एफ. आर.एस फन्ड अगाडिको नाफा आर्जन गरेको छ । संस्थाको साधारण जगेडा कोषमा ६ करोड १९ लाख,पुरस्कार तथा सम्मान कोषमा १९ लाख ३२ हजार, अन्य कोषमा ३ करोड ३६ लाख ९६ हजार र संस्था विकास कोषमा ५१ लाख पुगेको छ । सभाले शेयर लाभांश र संरक्षित पुँजी फिर्ता कोष समेत गरी सदस्यलाई १० प्रतिशत लाभांश प्रदान गर्ने प्रस्ताव पारित गरेको छ ।

संस्थाले यस आर्थिक बर्षमा भाका नाघेको ऋण ५ प्रतिशत माथी नाघ्न नदिने, सदस्यहरुलाई वित्तीय साक्षरता मार्फत प्रविधि प्रयोगलाई बढाउने र ऋणको बीमा गर्ने लगायतका योजना अगाडि सारेको छ । सदस्यहरुलाई सहज रुपमा वित्तीय सेवा प्रदान गर्ने उदेश्यले संस्थाले एटिएम सेवा मोबाईल बैंकिङ्ग र क्युआर पेमेन्ट जस्ता सेवा सञ्चालनमा ल्याइसकेको छ । सामाजिक कार्य अन्तर्गत युवा उप समिति मार्फत बर्षमा दुई पटक रक्तदान गर्दै आएको संस्थाले अहिले विरामीहरुलाई अत्यावश्यक पर्ने रगतको अभाव देखिएकाले आफुलाई अनुकुल पर्ने ठाउमा गएर रक्तदान गर्न व्यवस्थापक राधा कडरियाले साधारण सभामा उपस्थित सदस्यहरुलाई आग्रह गरिन् । सभाले उप निर्वाचनबाट संस्थाको रिक्त रहेको कोषाध्यक्ष र सञ्चालक सदस्य समेत चयन गरेको छ ।

प्रकाशित : २० आश्विन २०८१, आईतवार १४:४८