विद्युत व्यापारमा नेपालको ऐतिहासिक फड्को, भारतको बाटो हुँदै बंगलादेशलाई ४० मेगावाट बिजुली बेच्ने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

विद्युत व्यापारमा नेपालको ऐतिहासिक फड्को, भारतको बाटो हुँदै बंगलादेशलाई ४० मेगावाट बिजुली बेच्ने



काठमाडौं । नेपाल र बंगलादेशबीच विद्युत बिक्री सम्झौता भएको छ । यो सँगै नेपालबाट बंगलादेश विद्युत् निर्यात गर्ने बाटो खुलेको छ । बिहीबार नेपाल, भारत र बंगलादेशका तीन कम्पनीबीच विद्युत् बिक्री सम्झौता भएको हो । यसबाट नेपालले तेस्रो मुलुकमा विद्युत् निर्यात गर्ने बाटो खुलेको हो ।

काठमाडौंमा बिहीबार आयोजित एक कार्यक्रमबीच नेपाल विद्युत् प्राधिकरण, बंगलादेश पावर डेभपलमेन्ट बोर्ड (बीपीडीबी) तथा भारतको एनटीपीसी विद्युत् व्यापार निगम (एनभीभीएन) बीच त्रिपक्षीय ऊर्जा बिक्री सम्झौता (पीएसए) भएको हो । यससँगै नेपालले पहिलो चरणमा ४० मेगावाट विद्युत् बंगलादेश निर्यात गर्ने छ ।

नेपालले विद्युत् बिक्री गर्ने, भारतको प्रसारण लाइन हुँदै लैजानुपर्ने र बंगलादेशले त्यो खरिद गर्ने भएकाले तीन देशका निकायबीच त्रिपक्षीय सम्झौता भएको हो । सम्झौतामा नेपाल विद्युत् प्राधिकरणमा कार्यकारी निर्देशक कुलमान घिसिङ, बीपीडीबीका अध्यक्ष मो. रेजुल करिम र एनभीभएनकी सीईओ रेनु नारंगले हस्ताक्षर गरेका छन् ।

ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री दिपक खड्का र बंगलादेशकी वन, वातावरण, जलवायु परिवर्तन तथा जलस्रोतमन्त्री सैयदा रिजवाना हसनको उपस्थितिमा सम्झौता भएको हो । कार्यक्रममा नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तव पनि उपस्थित थिए ।

नेपाल विद्युत् प्राधिकरणले प्रतियुनिट करिब ८ रुपैयाँ ६४ पैसा प्रतियुनिट (६.४० अमेरिकी सेन्ट) का दरले बंगलादेशको बीपीडीबीलाई विद्युत् निर्यात गर्ने सम्झौतामा उल्लेख छ । बंगलादेश विद्युत् निर्यात गर्दा भारतको एनभीभीएनको प्रसारण लाइन प्रयोग गरेबापतको ‘ह्विलिङ चार्ज’ बंगलादेशी कम्पनीले तिर्नेछ ।

प्रकाशित : १७ आश्विन २०८१, बिहीबार २२:०१