बाढीपहिरोका कारण पीडितका लागि १ करोड ११ लाख सहयोग गर्ने भाटभटेनीको घोषणा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

बाढीपहिरोका कारण पीडितका लागि १ करोड ११ लाख सहयोग गर्ने भाटभटेनीको घोषणा



काठमाडाैं । भाटभटेनी सुपरस्टोरले केहि दिनअघि आएको बाढीपहिरोका कारण पीडित भएका सर्वसाधारणका लागि १ करोड ११ लाख ११ हजार १११ रुपैयाँ सहयोग गर्ने भएको छ ।

कम्पनीका अध्यक्ष मिनबहादुर गुरुङले सो सहयोग बाढी पीडितको उद्धार र राहतका लागि प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा प्रदान गर्न लागेको बताए ।उनले पछिल्लो अविरल वर्षामा हजारौं नागरिक विस्थापित हुने अवस्था आएको भन्दै सरकारी राहत कोषमा सहयोग जम्मा गर्न लागेको बताए ।

उनले भने, ‘अहिले बाढी पीडितका लागि १ करोड ११ लाख ११ हजार १११ रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छु ।’यसबारेमा कम्पनीका चीफ अपरेटिङ अफिसर(सीओओ) पानु पौडेलले घोषणा गरिएको रकम सरकारलाई हस्तान्तरण गरिने बताए ।

गत शुक्रबारबाट परेको अविरल वर्षापछि देशभर १९३ जनाको मृत्यु भएको सरकारी तथ्यांक छ भने अझै पनि ३५ जना बढी बेपत्ता छन् ।बाढीपहिरोबाट अर्बौं रुपैयाँको क्षति भएको हुँदा मुलुकलाई अप्ठेरो परेको बेलामा सहयोग गर्नु नागरिकको दायित्व पनि भएको उनको प्रतिक्रिया छ ।

गुरुङले यसअघि डा भगवान कोइरालाको नेतृत्वमा रहेको बाल अस्पताल निर्माणका लागि ४१ करोड रुपैयाँ बराबरको सहयोग गरेका थिए । उक्त अस्पताल अहिले निर्माणाधीन अवस्थामा छ ।

अघिल्लो वर्ष जाजरकोटमा गएको भूकम्पपछि उनीहरुको उद्धार र राहतका लागि उनले १ करोड ११ लाख ११ हजार १११ रुपैयाँ सहयोग गरेका थिए । त्यसबाहेक ८० लाख रुपैयाँबराबरको खाद्यान्न उक्त क्षेत्रमा पठाएका थिए ।कोभिडका बेला पनि संघीय सरकारसहित सातै प्रदेशमा उनले सहयोग हस्तान्तरण गरेका थिए ।

त्यसअघि २०६८ सालमा त्रिवि शिक्षण अस्पतालमा दुई वटा भवन निर्माण गरिदिएका थिए । साथै उनले ११ करोड लागतमा इमर्जेन्सी भवन बनाइदिएका थिए भने ईएचएस भवन १५ करोड लागतमा तयार पारिदिएका थिए ।

उनले अहिलेसम्म १४ जनालाई एमबीबीएसको अध्ययन पनि गराएका छन् ।उनकै सहयोगका कारण रोल्पा, खोटाङ, मुगु, डोल्पा, बैतडी, दार्चुला, संखुवासभा, ताप्लेजुङ, पाँचथर र कालीकोटका १४ जनाले डाक्टरको रुपमा स्थानीय तहका अस्पतालमा कार्य गरिरहेका छन् ।उनीहरुको पढाइको सम्पूर्ण खर्च भाटभटेनीले नै व्यहोरेको थियो ।

भाटभटेनी सुपरमार्केट नेपालको नाम चलेको व्यापारिक ब्रान्ड हो। मुलुकका विभिन्न स्थानमा दुई दर्जनभन्दा बढी यसको सुपरस्टोरहरु सञ्चालनमा छन्।

प्रकाशित : १४ आश्विन २०८१, सोमबार १४:५१