अटो कम्पनीहरुको दशैं अफरः कुन गाडी खरिदमा कति छुट ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अटो

अटो कम्पनीहरुको दशैं अफरः कुन गाडी खरिदमा कति छुट ?



काठमाडाैं । नेपाली अटोमोबाइल्स बजार अहिले कठिन अवस्थामा चलिरहेको छ । नेपालीहरुको महान चाड दशैं–तिहार आउन केही दिन मात्रै बाँकी रहेको छ ।

नाडा अटो शो २०२४ सम्पन्न भएसँगै गाडी किन्ने माहोल बनाउन लागिपरेका अटो बिक्रेता कम्पनीहरु नौ रथा लागेसँगै बिक्री बढाउने तरखरमा रहेका छन् ।

आफ्ना ग्राहकहरूलाई आकर्षित गर्नका लागि विभिन्न चार पाङ्ग्रे सवारी कम्पनीहरूले भारी डिस्काउन्टका साथ विभिन्न अफर सार्वजनिक गरेका छन् ।

साथै, बजारमा विभिन्न नयाँ गाडी पनि सार्वजनिक गरेका छन् । विगतका वर्षहरूमा पनि सवारीसाधन बिक्रेता कम्पनीहरूले छुटको अफर सार्वजनिक गर्ने गरेका थिए ।

दशैं तिहारजस्ता ठूला चाडपर्व बिक्रेता र खरिदकर्ता दुवैका लागि फलदायी हुने समय हो । दशैंतिहारमा केही मात्रामा भए पनि व्यापार बढ्ने उद्देश्यका साथ दशैंतिहार लक्षित अफर सार्वजनिक गरेको व्यवसायीहरूको भनाइ छ ।

दशैंतिहारमा धेरै मात्रामा बिक्री नभए पनि व्यापार चलायमान हुने व्यवसायीहरूको विश्वास छ ।

विवाईडीका गाडी खरिदमा निःशुल्क बीमा र चार्जर

दशैँमा अफर दिने अर्काे कम्पनी हाे विवाईडी । विवाईडीका गाडी किन्दा निःशुल्क बीमा तथा चार्जर पाइने भएकाे छ । नेपालका लागि आधिकारिक बिक्रेता साइमेन्स इंकले याे याेजना ल्याएकाे हाे । विवाईडीको एटो थ्री र डल्फिनमा लागू हुने गरी कम्पनीले ल्याएकाे अफर अनुसार गाडी खरिदमा भेहिकल टु लोड र २.३ किलोवाटको ट्राभल चार्जर दिइने भएकाे छ । त्यसैगरी, एक वर्षसम्मको निःशुल्क बीमा सुविधा दिने पनि कम्पनीले जनाएको छ ।

टाटा मोटर्सकाे गाडी किन्दा विदेश घुम्न पाइने

दशैं तिहार लक्षित गरेर टाटा मोटर्सले आफ्नाे गाडी खरिद गर्दा अन्य अफरसँगै विदेश भ्रमणको पनिअफर सार्वजनिक गरेकाे छ । नेपालका लागि आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले टाटा मोटर्स खरिद गर्दा उपभाेक्ताले होम अप्लायन्स, ग्याजेट वा टुर प्याकेजकाे उपहार दिने व्यवस्था गरेकाे छ । तर ग्राहकले उपहारमध्ये एक लिन पाउनेछन् ।

यस योजना अन्तर्गत टुर प्याकेजमा मरिसस, बैंकक, मलेसिया, दुबई र युरोप जान सकिनेछ । त्यस्तै, होम अप्लायन्सअन्तर्गत सामसङ वा एलजीकाे वासिङ मेसिन, डबल डाेर फ्रीज, एसी, साेनी टीभी, माइक्रो वेभ ओभन पनि ग्राहकले पाउन सक्नेछन् । यसका साथै, ग्याजेट अन्तर्गत आईफोन, एयरपड, म्याकबुक, एपल वाच दिइने भएकाे छ । यसैगरी, गाडी बुकिङ गर्दा स्मार्ट वाच वा इयरपड पाइने भएकाे छ ।

नेटाकाे गाडी खरिदमा बाली घुम्न जान पाइने

याे दशैँमा नेटाकाे गाडी खरिद गर्दा बाली घुम्न जान पाइने भएकाे छ । नेपालका लागि आधिकारिक बिक्रेता सीजी माेटर्सले दशैँ तिहारलाई ध्यानमा राख्दै ‘अनबिटेबल डिल्स’ याेजना ल्याएकाे छ । नेटाकाे याे याेजना अन्तर्गत स्याेर सट नगद छुट तथा एक्सचेन्ज बाेनस पनि पाउन सकिनेछ । यसकासाथै, नेटा भी खरिद गर्दा बालीकाे भ्रमण उपहार स्वरूप दिइने भएकाे छ ।

निसानले १५ लाखसम्म छुट दिने

निसानले चाडपर्व लक्षित गर्दै आफ्ना गाडी खरिद गर्दा १५ लाख रूपैयाँसम्मकाे छुट दिने भएकाे छ । नेपालका लागि निसानको आधिकारिक बिक्रेता पायोनियर मोटो कर्पले ‘निसान फेस्टिभ डिल’ नामक योजना सार्वजनिक गरेकाे हाे । यस याेजना अन्तर्गत निसान गाडीको खरिदमा ६ वर्षकाे इन्धन निःशुल्क पनि पाउन सकिनेछ ।

निसान म्यागनाइट, निसान किक्स, निसान नाभारा, निसान लिफ र निसान एक्स–ट्रेल मोडलका गाडी खरिद गर्ने ग्राहकहरूले यस्ताे छुट पाउने भएका हुन् । साे अफर अनुसार निसान गाडी बुक गर्ने ग्राहकले एक वर्षको गाडी बीमा, ३ वर्षको सडक कर र ३ वर्षको सर्भिसिङ निःशुल्क पाउनेछन् । त्यस्तै, गाडीको खरिदमा ३ वर्षको वारेन्टी र १५ लाख रुपैयाँसम्मको छुट पनि पाउन सकिनेछ । निसान म्याग्नाइट किन्दा फेस्टिभ डिलका सुविधाका साथै ८० प्रतिशतसम्म सहज फाइनान्सिङ र ६ वर्षसम्म ‘नो रनिङ कस्ट’ को सुविधा पनि पाउनेछन् ।

दशैँमा होण्डका कारमा ५ लाख रूपैयाँ छुट

अन्य कम्पनीहरू जस्तै हाेण्डाले पनि फेस्टिभ अफर भन्दै याेजना ल्याएकाे छ । चाडपर्वमा यस ब्राण्डका माेटरसाइकल खरिद गर्दा स्क्र्याच कार्ड मार्फत् १० लाख रूपैयाँ नगदसम्म जित्न सकिनेछ।

यसैगरी, नेपालमा होण्डा कारको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङले चाडपर्व लक्षित ‘होण्डा कार दशैं उपहार, अफरमाथि अफर’ ल्याएको छ । यस अफरमा होण्डाका कार किन्दा ५ लाख रुपैयाँ नगद छुट पाउन सकिने छ ।

साथै, कम्पनीका अनुसार गाडी खरिद गर्दा पाँच वर्षकाे निःशुल्क सर्भिस पाइने भएको हो । होण्डाका कुनै पनि गाडीको किन्दा २ वर्षका लागि गाडीको बीमा सुविधा पनि कम्पनीले दिएकाे छ । यसका साथै ५ वर्षमा १० वटा सर्भिसिङको सुविधा कम्पनीले दिने भएकाे छ ।

ग्राहकहरूलाई थप आकर्षित गर्न कम्पनीले ‘फ्री एक्सेसरिज’ र ‘स्पट एक्सचेन्ज’ को पनि सुविधा दिने भएको छ । यस्तै, कम्पनीले ‘रोड साइड असिस्टेन्स’को सुविधाका साथै २ वर्ष वा कार एक लाख किलोमिटर चलाएसम्म वारेन्टी पनि कम्पनीले दिएकाे छ ।

हुन्डाईका गाडी किन्दा छुट

हुन्डाई गाडीका लागि नेपालका लागि आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले ‘फेस्टिभ डिलाइट–२०८१’ योजना ल्याएकाे छ । दशैं तिहारको लागि याे अफरमा हुन्डाई गाडी खरिद गर्दा १० लाख रुपैयाँ छुट पाइने भएको छ। मेड इन नेपाली हुन्डाई भेन्यू लक्की ड्रमार्फत याे एक जना भाग्यशाली ग्राहकले मात्र प्राप्त गर्न सक्नेछन् ।

यसैगरी, स्क्र्याच कार्डमार्फत थप एक लाख रूपैयाँसम्मकाे नगद छुट र एक वर्षका लागि निःशुल्क सवारी बीमा तथा सवारी कर सुविधा पनि प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ । यसका साथै, याे अफरमा हुन्डाईका गाडीमा ३ वर्ष वारेन्टी र ६ वर्षको फ्री सर्भिसिङ पाउन सकिनेछ।

सुजुकी कार खरिद गर्दा चार लाख रूपैयाँसम्मकाे छुट

याे दशैंकाे अफरैअफरमा अर्काे अफर सुजुकी ब्राण्डले पनि ल्याएकाे छ । सुजुकी कार खरिद गर्दा चार लाख रुपैयाँसम्मकाे छुट कम्पनीले दिने भएकाे छ । सुजुकी कारको नेपालका लागि आधिकारिक बिक्रेता तथा सीजी होल्डिङ्स अटोमोटिभ डिभिजन सीजी मोटोकर्पले चाडपर्व लक्षित गर्दै ‘सुजुकी पर्वोत्सव अफर’ सार्वजनिक गरेकाे हाे ।

उक्त योजना अन्तर्गत गाडी किन्ने ग्राहकले चार लाख रुपैयाँसम्म नगद छुट पाउनेछन् । यसका साथै, उनीहरूले गाडीसँगै एक वर्षको सवारी बीमाकाे सुविधा लिन सक्नेछन् । साे याेजना अनुसार २ लाख रुपैयाँसम्मको एक्सचेन्ज बोनस तथा २० हजार रूपैयाँसम्मको लोयल्टी बोनस पनि पाउन सकिनेछ । कम्पनीले सिट कभरसहितको एक्सेसरिज पनि दिन बताएकाे छ ।

एमजीकाे यस्ताे अफर

दशैं अफर दिने भीडमा एमजी पनि पछि छैन । याे दशैँमा नेपालका लागि आधिकारिक बिक्रेता पारामाउन्ट मोटर्सले एमजी गाडी खरिद गर्दा विभिन्न छुट दिएको छ । यस अफर अन्तर्गत एमजीको जेड्एस इभी किन्दा ६ लाख रुपैयाँ छुट पाएर ४६ लाख ९९ हजार रुपैयाँमा खरिद गर्न सकिनेछ ।

किया गाडीमा ८ लाख रुपैयाँसम्मको नाफा

यो वर्षको दशैं अफरमध्ये कियाकाे अफर पनि आकर्षक छ । याे गाडि किन्दा ८ लाख रुपैयाँसम्मको नाफा पाउन सकिनेछ । किया गाडीको नेपालका लागि आधिकारिक बिक्रेता कन्टिनेन्टल ट्रेडिङ्गले किया गाडीकाे खरिदमा ४ लाख रुपैयाँसम्मको नगद छुट दिने व्यवस्था गरेकाे छ ।

कम्पनीले ल्याएकाे याे अफरमा किया कार खरिद गर्दा चार लाख रुपैयाँ छुट पाउन सकिनेछ । यसका साथै, कम्पनीले तीन लाख रुपैयाँसम्मको एक्सचेञ्ज बोनस सुविधा तथा एक वर्षको सडक कर र बीमा सुविधा निःशुल्क दिएकाे छ ।

वुलिङका गाडीमा पनि छुट

नेपालका लागि वुलिङको आधिकारिक बिक्रेता पारामाउन्ट मोटर्सले चाडपर्व लक्षित अफर सार्वजनिक गरेकाे छ । वुलिङ गाडी दशैंमा किन्नेले २ लाख रुपैयाँ नगद छुट पाउनुका साथै २९ लाख ९९ हजार रूपैयाँमा गाडी घर लैजान सक्नेछन् । यसअघि, याे गाडीकाे मूल्य ३१ लाख ९९ हजार रुपैयाँ रहेकाे थियाे ।

सिट्रोन गाडी किन्दा के छ अफर?

नेपालमा सिट्रोन गाडीको आधिकारिक वितरक सांग्रिला मोटर्सले दशैँ लक्षित गरी अफर ल्याएकाे छ । अब सिट्रोनको गाडी किन्ने ग्राहकहरूले ७ लाख ४० हजार रूपैयाँ डाउनपेमेन्ट गरे मात्र पुग्ने भएकाे छ । खासगरी, कम्पनीले सिट्रोन सी ३ (आईसीई इन्जिन) किन्दा एक वर्षका लागि निःशुल्क बीमा र एक वर्षका लागि निःशुल्क सडक करको सुविधा दिने भएकाे छ । त्यसमाथि कम्पनीले एक वर्षका लागि निःशुल्क बीमा र एक वर्षका लागि नै निःशुल्क सडक करको सुविधा पनि दिइएकाे छ ।

सिट्रोन ईसी–३ साइन गाडीमा भने विशेष नगद छुट, निःशुल्क बीमा र एक वर्षका लागि निःशुल्क सडक करलगायतकाे सुविधा पाउन सकिनेछ ।

ग्रेटवाल मोटर्सको सवारी खरिदमा नगद छुट

ग्रेटवाल मोटर्सले पनि चाडपर्व लक्षित गर्दै विभिन्न अफर ल्याएकाे छ । नेपालका लागि ग्रेटवाल मोटर्सको आधिकारिक बिक्रेता भीजी इम्पेक्सले ग्राहकका लागि नगद छुटका साथै विशेष बोनसको व्यवस्था गरेकाे छ । याे कम्पनीकाे गाडी खरिद गर्दा एक वर्षसम्मको निःशुल्क बीमाकाे सुविधा, सडक कर, एसेसरिज र सर्भिस पाउन सकिनेछ।

फक्सवागनद्वारा १० लाखसम्मको फाइदा

फक्सवागन ब्रान्डले दशैं तिहार लक्षित गरी ‘फक्सवागन फेस्टिभ फ्रिडम’ याेजना सार्वजनिक गरेकाे छ । यस याेजना अन्तर्गत याे ब्रान्डकाे गाडी खरिद गर्दा १० लाख रुपैयाँसम्मको फाइदा उठाउन सकिने भएकाे छ । खासगरी, फक्सवान गाडीकाे नेपालका लागि आधिकारिक बिक्रेता पुजा इन्टरनेशनलले याे याेजना अन्तर्गत याे कम्पनीकाे गाडी खरिद गर्दा चार लाख रुपैयाँ नगद छुट दिने भएकाे हाे।

यसका साथै, यी गाडी किन्दा ४ लाख रुपैयाँ नगद छुट, बाइ ब्याक ग्यारेण्टी र २ लाख रुपैयाँसम्मको एक्सचेञ्ज बोनस सुविधा पनि पाइने भएकाे छ । साथै, यस अफरमा ४ वर्षसम्मको निःशुल्क सर्भिस सुविधा र स्पेयर पार्टस किन्दा तीन वर्षसम्म १५ प्रतिशत छुटको सुविधा पाउन सकिनेछ । कम्पनीका अनुसार याे अफरमा निःशुल्क इन्धन, एक वर्षको सडक कर र एसेसरिज प्राप्त गर्न सकिने छ । यति मात्र नभइ ग्राहकले २ लाख रुपैयाँसम्मको एक्सचेञ्ज बोनस सुविधा पनि पाउन सक्ने कम्पनीले जनाएकाे छ ।

प्रकाशित : १४ आश्विन २०८१, सोमबार १३:००